

गण्डकी प्रदेशसभा बैठक अवरुद्ध, काम सकिएका योजनाको भुक्तानी रोकेको आरोप

गण्डकी – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११:०० बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।
नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताए । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उनले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताए ।
पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गरे । प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १:०० बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
दिउँसो १:०० बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११:०० बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

