

दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

काठमाडौं – नेपाल सरकारको रिक्त बिशिष्ट श्रेणी अर्थात दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । आइतबार सिंहदरबारमा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।
प्रशासनतर्फ सहसचिव खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र डा. रामप्रसाद घिमिरेको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल र सरजु कुमार बैद्य रहेका छन् ।
प्रशासनतर्फ सिफारिस भएका नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् भने शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन् । यस्तै घिमिरे अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखाका प्रमुखको जिम्मेवारीमाा छन् ।
प्राविधिकतर्फ सिफारिस भएका सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव छन् भने खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै बैद्य जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।
सोमबार बस्ने नियमित मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले दुई सचिवको बढुवा गर्ने छ ।

