

कांग्रेस महाधिवेशनः बाबुहरूको त्यागको कथा, तीन भाई छोराहरुको अर्कै व्यथा

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन राजनीतिक अवस्थामा उथल पुथल नआए वा कोरोना संक्रमणले पुनः महामारीको रुप नलिएमा निर्धारित मिति भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।
नेपालको पहिलो प्रजातन्त्रवादी, पहिलो प्रजातान्त्रिक समाजवादी चरित्र बोकेको र मुलुकको तीन वटा क्रान्तिको नेतृत्व गरेको कांग्रेसको यो महाधिवेशन विगतका पाँच वटा महाधिवेशन जस्तै पार्टीले लिने नीति र कार्यक्रमलाई भन्दा नेतृत्व कस्तो आउला भन्ने विषयमै केन्द्रीत हुने निश्चित छ ।
यो महाधिवेशनमा २१औं शताब्दीको डिजिटललाईज समाजलाई हाँक्ने नेतृत्व कस्तो आउला भनेर जोड घटाउ हुन थालेको छ । ‘मास वेस’ पार्टीको चरित्र बोकेको भनिएको कांग्रेसमाथि त्यस विपरित परम्परागत बिरासत धान्ने उद्देश्यले नेतृत्वको दाबी गर्नेको चर्चा चुलिँदैछ ।
विशेष गरी सुदूर डडेल्धुरास्थित असिग्राम रुवाखोलाको सामान्य गाउँमा जन्मिएर कांग्रेसको नेतृत्व सम्हालिरहेका शेरबहादुर देउवाको पुनः सभापति हुने चाहनालाई ‘ब्रेक लगाउने’ उद्देश्यले पार्टीका संस्थापक नेताका पुत्रहरुको मोर्चाबन्दीलाई यतिबेला अनिष्टको संकेतको रुपमा लिइएको छ ।
देउवाको ‘आवाज नबुझिने’ र ‘राणा परिवारको ज्वाईं’ भएकै आधारमा उनलाई कतिपय अवस्थामा पार्टी भित्र र बाहिरबाट समेत आलोचना र टिप्पणी गर्ने गरिन्छ ।
पार्टी र सरकारको नेतृत्व गर्दा देउवा त्यति बिघ्न लोकप्रिय हुन नसकेको यथार्थ हो । तर, यतिबेला देउवालाई नेतृत्वबाट बिस्थापन गर्न पार्टीका संस्थापक नेताका तीन पुत्र जसको भूमिका पार्टीमा योगदानभन्दा बढी विरासत र उत्तराधिकारीको रुपमा चिनाउने गरिन्छ, उनीहरुको मोर्चाबन्दीका कारण कांग्रेसले मासबेस पार्टीको चरित्र त्याग्ने त्रास बढेको छ ।
कांग्रेसलाई साँच्चिकै समाजबादी, समावेसी र लोकतान्त्रिक बनाउन पार्टीका पाँच नेता विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधीको योगदान अतुलनिय छ ।
यीमध्ये भट्टराई अविवाहित भएकाले कुनै सन्तान थिएनन् भने राणाका सन्तान सक्रिय राजनीतिबाट ओझेलमा परेका छन् ।
बीपीका कनिष्ठ पुत्र डा. शशांक कोइराला, गणेशमानका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधी पुत्र विमलेन्द्र यतिवेला कांग्रेसको सक्रिय राजनीतिमा बिराजमान छन् । उनीहरुको पहिचान स्वतन्त्र भन्दा पनि पिताको नामसँग जोडिएर आउने गर्छ ।
पार्टी भित्रै तीन ‘राजकुमार’को उदय
कांग्रेसका संस्थापक नेतामध्येका बिपीको विलक्षण प्रतिभा र दूरदर्सीता, गणेशमानको त्याग र समर्पण र महेन्द्रनारायणको अहिंसात्मक र राष्ट्रवादी चरित्र अतुलनिय रहेको इतिहाले प्रष्ट पारेको छ । तर, त्यस्तो नेताका पुत्रहरुको चरित्र भने ठीक विपरित छ ।
बीपी, गणेशमान र महेन्द्रनारायणको जस्तो आदर्श जीवनको अनुशरण गर्न नसकेका उनका पुत्रहरु यतिवेला आफूलाई कांग्रेस भित्रको ‘राजकुमार’को रुपमा जवर्जस्त अघि सारिरहेका छन् । उनीहरुले आफ्नो योगदान भन्दा पिताको कथा सुनाउने गर्छन् ।
पार्टीको महाधिवेशन भदौमै गर्ने विषयमा असारको पहिलो साता कांग्रेस सभापति देउवालाई पदाधिकारीको बैठक बोलाएर र विज्ञप्ति जारी गरेरै प्रतिबद्धता सार्वजनिक गरे । त्यसको केही दिनमै देउवाले आफू पुनः सभापतिमा उठ्ने चाहना निकटका केन्द्रीय सदस्यसँग व्यक्त गरे ।
देउवाले आफू निकटका १ नम्वर प्रदेशका केन्द्रीय सदस्यलाई असार ५ गते शनिबार भेटेपछि ६ गते आइतबार २ नम्वर प्रदेशका नेतासँग भेट्ने क्रममा आफैले केन्द्रीय उपसभापति मनोनित गरेका नेता विमलेन्द्र निधीलाई पनि बोलाए ।
आफनो सभापति हुने चाहनालाई मूर्तरुप दिन र संस्थापन पक्षको एकतालाई बलियो स्वरुप दिने आशा गरेका देउवा त्यसबेला झस्किए जति बेला निधीले देउवालाई भने, ‘यो महाधिवेशनमा म सभापतिमा उठ्छु, तपाइँको समर्थनमा, महलाई सहयोग गर्नुस् ।’
निधीको यो भनाई अनपेक्षित भने थिएन । तथापी आफूले नै सभापतिमा चाहना गर्दा निधीले टक्कर दिन्छु भन्ने देउवाले सोचेका थिएनन् । देउवालाई सभापतिमा टक्कर दिने उद्घोष गरेका निधीले संस्थापनइत्तरको धारमा रहेका बीपी पुत्र डा.शशांक र गणेशमान पुत्र प्रकाशमानसँग दुई दिनपछि नै भेटेर आफूहरु पार्टीको ‘राजकुमार’ भएको शक्ति प्रदर्शन गरे ।
बैवाहिक वर्षगाँठको अवसरमा पारेर निधीले आफ्नै निवास मध्यबानेश्वरमा जब डा. शशांक र प्रकाशमानलाई ‘डिनर’ दिएर महाधिवेशनमा एकै भएर जाने सन्देश सार्वजनिक गरे । असार १५ मा दही चिउरा खुवाउन प्रकाशमानले विमलेन्द्र र डा. शशांकलाई चाक्सिबारी बोलाए ।
त्यसको चार दिनपछि तीनै नेताले कोइराला निवासमा महाधिवेशनमा उम्मेदवारीका विषयमा छलफल गर्न भनेर शुक्रबारे बैठक बोलाए । तर, उनीहरुको यो योजना क्रियाशिल सदस्यता बिबादमा रुमलिएको अवस्थामा हतार हुन्छ भन्ने सुझावपछि रोकिएको थियो ।
तीनै नेताको योगदान, दृष्टिकोण र जीवनशैली भने पार्टी कार्यकर्ताको लागि रुचिकर छैन । त्यसैले संस्थापन पक्षको भेलामा सभापति देउवा निकटका केन्द्रीय सदस्यको अनौपचारिक भेला र संस्थापनइत्तरको पौडेल समूहको बैठकमा तीन नेतालाई ‘तीन राजकुमार’ को संज्ञा दिन थालिएको छ ।
पिताको चरित्र बोक्ने नसक्ने डा. शशांक
कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा निर्वाचित भएका डा. शशांक बीपीका कान्छा छोरा हुन् । उनी तत्कालिन प्रधानमन्त्री तथा हालका पार्टी सभापति देउवाले २०५९ जेठ ९ गते प्रतिनिधिसभा विघटन गरेसँगै २०५९ असोज १८को शाही कदमपछि पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।
२०६८ सालसम्म पनि आफू राजनीतिमा नआउने चिकित्सा पेशा नै उत्तम लागेको बताउने डा. शशांकलाई त्रिवि विपी कोइराला नेत्र चिकित्सालयबाट राजिनामा दिन लगाएर तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रतिगमनबिरुद्धको आन्दोलनमा पहिलोपटक सडकमा उतारेका थिए ।
१२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. शशांकको जीवनशैली र चरित्र बीपीको भन्दा बिल्कुल फरक छ । उनी अत्यधिक मदिरा सेवन गर्ने र पार्टीमा देखिएको सबै किसिमको बिबादमा निरपेक्ष बस्ने गरेको आरोप नेता र कार्यकर्ताले लगाउने गरेका छन् ।
राष्ट्रिय राजनीतिमा देखिएका समस्याको निकास होस कि पार्टीको कार्यदीशा वा कार्यक्रम कुनै पनि विषयमा बिपी पुत्रको दृष्टिकोण स्पस्ट हुँदैन । त्यसैले उनलाई चिन्ने र जान्नेहरु ‘खोपीको देउता’ भन्ने गर्छन् । डा. शशांकले पार्टीको अहित हुने काम त गर्दैनन् नै, तर हितको खातिर सिन्को पनि भाँचेका छैनन् वा भाँच्दैनन् ।
सार्वजनिक समारोहमा उनलाई अतिथि बनाउनेहरु नै आजित भइसकेका छन् कि उनको सुझाव र दृष्टिकोण त परै जाओस मुस्किलले पाँच मिनेट भाषण पनि गर्दैनन् तर विभिन्न अवसर र चाड पर्व तथा पार्टीको भेला, बैठक र सम्मेलनपछि भोज आयोजना गर्न भने उनी पछि पर्दैनन् ।
त्यसैले पार्टी भित्रको राजकुमारको रुपमा रहेका डा. शशांकलाई दृष्टिकोण, योजना र कार्यक्रमबिहीन नेताको रुपमा चिन्ने गरिन्छ । जुन चरित्र वा जीवन शैली महामना वीपी कोइरालासँग पटक्कै मेल खाँदैन । बीपी हरेक समस्याको निकास, दृष्टिकोण र कार्यक्रम दिन सक्दथे तर डा. शशांकमा ति कुनै विशेषता छैनन् ।
गणेशमान त्यागी, प्रकाशमान असन्तोषी
नेपाली कांग्रेसको उपसभपाति र पछि महामन्त्री भइसकेका प्रकाशमान सिंह त्यागी, निष्ठावान् र स्वतन्त्र बिचार राख्नेहरुको बिरोधी हुन् । उनको आमचरित्र नै आफूलाई सहयोग, समर्थन र गुणगान गाउनेलाई साथमा लिन्छन भने प्रतिष्पर्धी वा सुझाव दिनेलाई चाक्सिबारीको ढोका बन्द गराउँछन् ।
त्याग, तपस्या र बलिदानका प्रतिमूर्ती लौहपुरुष गणेशमानको त्याग आर्थिक मात्र थिएन, पद पनि थियो । तर पुत्र प्रकाशमान २०४६ सालअघि पार्टीको जिल्ला कार्यसमितिमा थिए । त्यसअघि नेविसंघ काठमाडौंको सभापति थिए ।
२०४६को परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४७ सालमा बनेको अन्तरिम सरकारमा मार्सलजुलुम शाक्य मन्त्री भएपछि उनले जबर्जस्ती काठमाडौंको सभापति हात पारे । पार्टीको काठमाडौै जिल्ला सभापति हुँदा जिल्ला कार्यसमिति भंग भएपछि नवौ महाधिवेशनमा केन्द्रीय सदस्य भए ।
२०४८ र २०५१ को संसदीय निर्वाचन हारेपछि राष्ट्रिय सभाका सदस्य भएका प्रकाशमानले नै तत्कालिन प्रधानमन्त्री देउवालाई २०५९ सालमा पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्न प्रमुख भूमिका खेलेका थिए ।
देउवाको नेतृत्वमा बसेको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा मेलम्चि खानृृेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोग सिंहलाई तत्कालिन शाही आयोगले लगाएको थियो । शाही आयोगको गठन नै गैरकाननूनी भएकाले मेलम्ची ठेक्का प्रकरणबाट सिंह जोगिएका थिए ।
सो ठेक्का प्रकरणमा ठेकेदार रहेका जीप छिरिङ लामा माथि पनि शाही आयोगले अनुसन्धान गरी मुद्धा दायर गरी भ्रष्टाचारको मुद्धा चलाएको थियो ।
नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यबाट महामन्त्री भएका उनी कांग्रेसको एकीकरणपछि उपसभापति भए । तर पद भनेपछि छोड्न नचाहने प्रकाशमानले २०६७ सालको १२ औं महाधिवेशनमा शुसिल कोइरालाको प्यानलबाट महामन्त्री पद जितेका थिए ।
उनले राजनीतिमा प्रतिष्पर्धी देखिएका आफ्ना दाई पीएल सिंह, तत्कालिन काठमाडौं नगरपालिकाका प्रमुख हरिबोल भट्टराई, कांग्रेस काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोल, पूर्वसभापति भिमसेनदास प्रधान कसैलाई पनि काठमाडौंको राजनीतिमा टिक्न दिएनन् ।
त्यसैले प्रकाशमान सिंहलाई योग्य पिताका अयोग्य पुत्रको रुपमा लिइन्छ । उनी महामन्त्री हुँदा समेत पार्टीको नीति, कार्यक्रम, योजना र दृष्टिकोण निर्माणमा कुनै भूमिका निर्वाह गरेनन् । सार्वजनिक समारोहमा पिता गणेशमान सिंहको योगदानको चर्चा र आफूले यो पद पाएको भन्ने बाहेक उनीसँग कुनै दृष्टिकोण पाइँदैन ।
निष्कलंक क्षविका महेन्द्रनारायणका विवादित पुत्र बिमलेन्द्र
कांग्रेस स्थापना कालदेखि नै पार्टीलाई अहिंसात्मक बाटोमा लैजान गान्धीबादी चरित्र बोकेका निष्कलंक क्षवि बोकेका धनुुषाका महेन्द्रनारायण निधी कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका सारथी थिए ।
पार्टीले निरंकुश पञ्चायती व्यवस्थाबिरुद्ध सशस्त्र आन्दोलनको घोषणा गरी भारत प्रवासमा हुँदा समेत उनी नेपालमै बसेर पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरे ।
पार्टी सत्तामा हुँदा लाभको पदको प्रस्ताव आउँदा पनि त्याग गर्ने जीवनशैली बोकेका महेन्द्रनारायणले पार्टीको तर्फबाट लाभको पद लिएका भद्रकाली मिश्रले पार्टीको पाँचौ महाधिवेशनमा बिद्रोह गर्दा त्यसलाई समन गर्ने क्षमता प्रस्तुत गरेका थिए ।
त्याग र समर्पणको पहिचान बनाएका महेन्द्रनारायणका पुत्र विमलेन्द्रको क्षवि भने त्यसका बिपरित, पद, प्रतिष्ठा र शक्ति आर्जनमै केन्द्रीत भयो । आफूसँग असहमत वा फरक धारणा व्यक्त गर्ने पार्टीकै नेतादेखि कार्यकर्तासम्मलाई राजनीति सिध्याउने चरित्र बोकेका निधीकै कारण धनुषा कांग्रेस सँधै विबादमा पर्ने गरेको छ ।
कहिले आनन्दप्रसाद ढुंगाना, कहिलो लिला कोइराला त कहिले रामबरण यादवबिरुद्ध बिबाद र विग्रहको बिउ रोप्न रुचाउने निधीकै कारण तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा २०७३ र ०७४ सालमा निकै बिबादमा तानिए ।
पीता महेन्द्रनारायणको योगदानलाई कदर गर्दै नेविसंघका प्रथम सभापति देउवापछि विमलेन्द्रलाई नेविसंघको सभापति बनाउन बीपी कोइरालाले आफ्नै नाताले भाई पर्ने बिपीन कोइरालालाई पछि हट्न बाध्य बनाएका थिए ।
२०६० को दशकपछि लगातार सँधै जसो सत्तामा रही आएका निधीले सँधै जसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
काठमाडौंबाट तराई मधेश जोड्ने दू्रतमार्ग निर्माणको डिपीआर निर्माणको ठेक्का प्रकरणमा बिबादित भएका निधी गृहमन्त्री हुँदा आइजी प्रकरणमा सभापति देउवालाई समेत बिबादमा तानेका थिए ।
त्यस्ता राष्ट्रबादी निष्कलंक छबि बोकको पिता महेन्द्रनारायणको बिरासत बिमलेन्द्रले धान्न नसक्ने कांग्रेसकै नेताहरु बताउँछन् । देउवाकै नियुक्ति र चाहनामा पार्टीको महामन्त्री र उपसभापति भएका निधीले पदकै लागि चार दशकदेखि साथ दिँदै आएका देउवालाई असहयोग गर्नुले उनको राजनीतिक भविष्यप्रति कांग्रेसजनले आशा गर्न सकेका छैनन् ।
पिता महेन्द्रनारायण निधीको नाममा अस्पताल, प्रतिष्ठान आदि गठन गरी समाजसेवाको नाममा राजनीतिमा स्थापित हुन चाहने निधी संसदीय निर्वाचनमा अत्याधिक बजेट खर्च गर्ने उम्मेदवारमा समेत पर्छन् ।

