

वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरबासीको निःशुल्क डायलाइसिस शुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाका मिर्गौला रोगीकाहरुका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु भएको छ ।
आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले निःशुल्क हेमोडायलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका सेरो नेगेटिभ बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा शुरु भएको हो ।
मिर्गौला सम्बन्धी रोग लाग्नुभन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वास्थ्य मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तर्गत ३२ वटै वडाहरूमा प्रारम्भिक परीक्षणको सेवा शुरु भइसकेको मेयर शाक्यले बताए ।
महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच पाँच वर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो । सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डा। अरुण शर्माले बताए ।
यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज–५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि बिरामीले महानगरपालिकाको सिफारिस लिनुपर्ने जनाइएको छ ।

