बासुदेवको नियतिः २ दिनमै निर्णय बदल्दा जमानत समेत जफत !


रुपन्देही – भावी प्रधानमन्त्री बालेन शाहका प्रेरणाका स्रोत एवं तिलोत्तमा नगरपालिकालाई नेपालकै सर्वोत्कृष्ट नगरपालिका बनाउन सफल पूर्व मेयर बासुदेव घिमिरेको जीवनमा पुस १५ पछि अचम्मको घटनाक्रम घटिरह्यो ।

पुस १५ मा नेकपा एमाले पार्टी त्यागेको घोषणा गर्दै रास्वपा प्रवेशको तयारीमा रहेका पूर्वमेयर घिमिरे पुनः २ दिनपछि नै ‘हामी सँगै छौं’ भन्दै एमालेमै रहेको घोषणा गरे ।

पुस १५ पार्टीप्रतिको असन्तुष्टिले एमाले छोडेको भनेर फेसबुकमा लेखेका घिमिरेले दुईदिन पछि नै पुनः हामी सँगै छौं भन्दै एमालेमै रहेको जनाए । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोलीले रुपन्देही नै पुगेर ‘फकाउँदै’ एमालेमै राखेको थियो ।

तर, त्यसअघि बालेन निकट रहेका घिमिरे रास्वपा प्रवेश गर्ने र रुपन्देही २ बाट उम्मेदवारी दिने भन्ने अन्तिम तयारी रहेको बेला पुनः एमालेमै फर्किए । पुनः पार्टीमा फर्किएपछि उनले प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेबाट टिकट पाए, रुपन्देही क्षेत्र नं. ३ बाट । तर, फागुन २१ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट रास्वपाका उम्मेदवार डा. लेखजंग थापाबाट उनी सर्वाधिक मत अन्तरले तेस्रो बन्दै पराजित बन्न पुगे । उक्त क्षेत्रमा लेखजंग थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा दोस्रो भएका कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए भने एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए । यस मतसँगै घिमिरेले जमानत समेत सुरक्षित गर्न सकेनन् ।

त्यस्तै घिमिरे रास्वपा प्रवेश गरेको खण्डमा रुपन्देही २ बाट टिकट पाउने निश्चित भएको उनले त्यतिबेला बताएका थिए । उक्त क्षेत्रमा पनि रास्वपा उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई झण्डै ४३ हजार बढी मतान्तरले पराजित गरेका थिए ।

यस्तो भएको भए भन्ने कुरालाई मान्ने हो भने, यदि बासुदेवले पुस १५ को निर्णयमा अडिग रहँदै पुस १७ को निर्णयमा नपुगेको भए यतिबेला उनी रास्वपाबाट उनै एमाले उपाध्यक्ष विष्णु पौडेललाई पराजित गर्दै संसद छिर्ने लहरमा हुन्थे ।

घिमिरे उनै हुन्, जोसँग काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुपूर्व बालेन्द्र (बालेन) शाहले पटक–पटक तिलोत्तमा नै पुगेर उनीसँग सरसल्लाह लिने गर्दथे ।

घिमिरेले तिलोत्तमा नगरपालिकामा गरेको विकास कारण उनी सर्वोत्कृष्ट मेयरका रुपमा परिचित थिए, उनको कार्यकालमा । पछिल्लो समय उनै बालेनको प्रधानमन्त्रीत्वकालमा सांसद बन्न पाउने उनको सम्भावना दुई दिनअघिको निर्णयमा अडिग रहन नसक्दा गुम्यो ।

प्रतिक्रिया