

नायिका जेनी कुँवर प्रकरणः दुई कोणबाट अनुसन्धान गर्दै प्रहरी

काठमाडौं – गत बिहीवार राति नायिका तथा निर्मात्री जेनी कुँवर काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परिन्। सार्वजनिक फोटोमा कुँवर ढोकामा झुण्डिएको र दुवै खुट्टा भुइँमा टेकेको देखिन्छ।
यसकारण उनको आत्महत्या कि हत्या भन्ने प्रश्न धेरैले गरिरहेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार प्रारम्भिक अनुसन्धानमा कुँवरले आत्महत्या गरेको देखिएको छ। डिप्रेशनको कारण उनले आत्महत्या हुनसक्ने प्रहरीको अनुमान छ।
कुँवर प्रकरणमा घटनाको अनुसन्धान काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै टोलीले गरिरहेको छ। कुँवरको आत्महत्याबाटै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि अन्य विषयमा समेत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह बताउँछन्।
उनी आत्महत्या वा हत्या नै हो भनेर ठोकुवा गर्न नसकिने बताउँछन्। उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्या देखिएको छ। तर, पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिँदैन। विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’
कुँवर ढोकामा झुण्डिएको र दुवै खुट्टा भुइँमा टेकेकोबारे उनले भने, ‘मानिसको मृत्यु हुनेको भनेको टाउकोमा भार परेपछि हो। यो घटनामा पनि त्यस्तै हो कि भन्ने आशंका छ। खुट्टा कहाँ र कस्ता थिए भन्ने कुरा ठूलो हैन। तर, त्यसलाई पनि नजरअन्दाज गर्न सकिँदैन। त्यस विषयमा पनि अनुसन्धान हुन्छ।’
नायिका कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आइसकेको छैन।
घटनास्थलबाट प्रहरीले जेनीको ‘सुसाइड नोट’ समेत फेला पारेको छ। ‘सुसाइड नोट’मा ‘मेरो मृत्युमा कसैको दोष छैन। प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनि लेखिएको प्रहरीले जनाएको छ।
डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेखेकी हुन् वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

