दुई एआईजीको रोचक कथाः खाली ठाउँबाट उक्लिएका पोखरेल र उछिन्दै पुगेका थापा


काठमाडौं– नेपाल प्रहरीका आगामी महानिरिक्षक (आईजी)का लागि रोचक प्रतिस्पर्धा हुने निश्चित भएको छ। विहीबार मन्त्रिपरिषदले अतिरिक्त महानिरिक्षक (एआईजी)मा सहकुल थापालाई बढुवा गरेपछि प्रतिस्पर्धा रोचक हुने निश्चितप्रायः भयो।

अन्यथा अघिल्लो ब्याचहरुलाई पनि पछार्दै एआईजीमा उक्लिन सफल विश्वराज पोखरेलको एकल प्रतिस्पर्धा थियो। यद्यपि उनी केही महिना अघि नै एआईजी बढुवा भएका कारण थापा भन्दा सिनियर मानिन्छन्, प्राविधिक रुपमा।

तर आईजी बढुवाको निर्णय मन्त्रिपरिषदको खल्तीमा भएका कारणले अब यस पदलाई राजनीतिक कोणबाट पनि व्याख्या गर्न आवश्यक हुन्छ। संक्रमणकालिन राजनीतिमा सरकार कसको बन्छ र गृहमन्त्री को बन्छन् भन्ने चासोले पनि नेपाल प्रहरीको आगामी नेतृत्वको टुंगो लाग्नेछ। तर, अब जसको सरकार बने पनि पोखरेल र थापाको विकल्पचाहिँ हुने सम्भावना शुन्यप्रायः नै छ।

हालका आईजी शैलेश थापा क्षत्रीको अवकाससँगै उनका ब्याची र हालका एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको सेवासीमा समाप्त हुनेछ। यसकारणले पनि अबका दुई प्रतिस्पर्धी पोखरेल र थापा मात्रै हुन्।

आगामी वैशाखमा आईजी पदबाट क्षत्रीको पनि विदाई हुनेछ।

कसरी अघि बढे पोखरेल?   

काभ्रेको मण्डन देउपुरीमा भएको जीप दुर्घटनामा नेपाल प्रहरीका तत्कालिन बाहलवाला डिआईजी सुशील भण्डारी निधन भयो। भण्डारीको निधनसँगै उक्त पद खाली भयो।

त्यो रिक्तता पूर्ती गर्नु प्रहरीका लागि अनिवार्य बन्दा एसएसपीमा आफ्ना ब्याचीमात्र होइन अघिल्लालाई पनि छिचोल्दै डिआईजीमा पोखरेलको बढुवा गरियो।

गृहमन्त्रालय मार्फत नै मन्त्रिपरिषद्को बैठकमा पुगेको प्रस्ताव अनुमोदन भएको थियो। डिआईजीमा नियुक्त भएका पोखरेलले प्रहरीमा प्रवक्ताको जिम्मेवारी पाए। त्यसबेला प्रहरीको चेन अफ कमान्डमा समस्या आयो भन्नेसम्मको चर्चा चल्यो।

त्यति मात्र होइन पोखरेलले त्यसपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रुपमा जिम्मेवारी पाए। रानीपोखरीमा उनीभन्दा सिनियर डिआइजी शैलेश थापा क्षत्रीको जिम्मेवारी थियो जो अहिले आईजी छन्।

पोखरेल राजनीतिक भिटो प्रयोग गरी डिआईजीमा बढुवा भएको चर्चा चलेको थियो। पोखरेलको उदय यतिमा मात्र सीमित भएन, उनी एआईजीमा बढुवा हुँदा पनि नयाँ दरबन्दी कायम गरियो। अक्सर उनको नाम सरकारमा तत्कालिन अवस्थामा उपप्रधानमन्त्री पदमा रहेका एमाले महासचिव ईश्वर पोखरेलसँग जोडिएर आयो।

‘डिआईजीदेखि माथिको निर्णय मन्त्रिपरिषदले गर्ने भएकाले यो राजनीतिक रुपमा नै प्रभाव पर्ने पद हुन्छ’, उच्च स्रोतले भन्यो,‘प्रहरी नेतृत्वमा राजनीतिक हस्तक्षेप र असर छ भन्ने कुराको उदाहरण अन्यत्र खोज्नु पर्दैन।’

थापाको छलाङ

पोखरेलले आईजीका लागि एकल स्थान बनाइरहेका बेला राजनीतिमा फरक परिदृश्य देखा परेपछि थापाले पनि छलाङ मारे। ११ चैत ०४९ मा पोखरेलका ब्याची नै रहेका थापा एसएसपीमा ६ नम्बरमा थिए। डिआईजी बढुवाका क्रममा अन्य ब्याचीलाई छिचोल्दै पछिल्लो पटक उनी एक नम्बरमा आए।

अपराध अनुसन्धानमा अब्बल मानिने थापा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा महानगरीय अपराध महाशाखाका प्रमुख थिए। डिआईजी बढुवा भएपछि उनको जिम्मेवारी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा तोकियो।

सरकारमा फेरबदल हुँदा उपप्रधानमन्त्री पदबाट पोखरेल हटाइएपछि मन्त्रिपरिषदले थप एक एआईजीको दरबन्दी कायम गरेको थियो। जहाँ थापाको बढुवा गर्नेगरी गृह मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले निर्णय गरिदियो। थापा एसएसपी बढुवामा छुटेका थिए तर अचम्मित पार्नेगरी उनको उदय नेतृत्वमा प्रतिस्पर्धा हुनेगरी भइसकेको छ।

‘एउटा त कार्य सम्पादन र मुल्यांकनको सवाल बलियो हुन्छ नै अर्कोचाहिँ राजनीतिक तहले कसलाई अघि बढाउने भन्ने निर्णयले पनि काम गरेको हो’, प्रहरीका एक जना पूर्वआईजी भन्छन्,‘अब नेतृत्वमा प्रतिस्पर्धा हुने निश्चित भयो।’

अन्य पदका लागि स्वभाविक र कार्य सम्पादनले काम गर्ने भए पनि भावी नेतृत्व कसलाई बनाउँदा राम्रो हुन्छ भन्ने राजनीतिक मान्यताका आधारमा पनि निर्णय हुँदै आएको निरन्तरताका रुपमा यसलाई बुझ्न सकिने प्रहरीका पूर्व अधिकारीहरुको विश्लेषण छ।

प्रतिक्रिया