

नायिका जेनी कुँवरले गरिन् आत्महत्या, भेटियो ‘डिप्रेशनको शिकार’ भएको नोट

काठमाडौं – नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्। काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भइरहेको छ।
कुँवरको शवसँगै सुसाइड नोट पनि भेटिएको छ। नोटमा उनले आफू ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन्। प्रहरीले पनि कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए।
घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको छ। उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन्।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरको पछिल्लो फिल्म हलचल थियो। उनले विन्तिपत्र, मलाई माफ गरिदेउ, कानून, अभिमन्यू, मैदान, जीननदाता लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन्।
केही समय पहिले पशुपती क्षेत्र आफ्ना पुर्खाले खडा गरेको भन्दै बस्ने गरेकी थिइन्। पशुपती क्षेत्रको उनको बसाई विवादास्पद थियो।

