

महालक्ष्मी स्वस्तिक बगैंचा हस्तान्तरण

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी स्वस्तिक बगैंचा हस्तान्तरण गरेको छ ।
बगैंचाको मर्मत तथा पुनःनिर्माण गरी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्दै दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरी ललितपुर महालक्ष्मीस्थान–५मा शनिबार लक्ष्मीपूजाको अवसर पारेर बैंकले व्यवस्थापन समितिलाई स्वस्तिक बगैंचा हस्तान्तरण गरेको हो ।
ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले उक्त बगैंचा मर्मत तथा पुनःनिर्माण कार्य भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त बगैंचा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यव्रmमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका हुन् भने कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता बैंकले जनाएको छ ।

