

डकैतीपछि फरार अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं – काठमाडौंको जडिबुटीमा मोटरसाइकल चालकलाई रोकेर डकैती गरी फरार भएका अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाका अनुसार मकवानपुर हेटौडा उपमहानगरपालिका—७ नागसोतीका ३९ वर्षीय जगन्नाथ ढकाललाई पक्राउ गरिएको हो।
महाशाखा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टोलीले ढकाललाई पक्राउ गरेको हो। ढकाललाई बनेपाबाट काठमाडौं फर्किँदै गरेका नारायण खनाललाई जडिबुटीमा रोकी अपहरणपछि लुटपाट गरेको आरोप थियो।
ढकाललाई फैसला कार्यान्वयनका लागि बुधबार काठमाडौं जिल्ला अदालत पेश गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। बा१६प ६८२१ नम्बरको मोटरसाइकलमा सवार खनाललाई जटिबुटीमा ढकालसहित पाँच जनाले रोकेका थिए।
त्यसपछि उनीहरूले खनालको मुखमा टेप टाँसेर भेनमा राखी एकान्तमा लगेर १० लाख २५ हजार रुपैयाँ, मोबाइल र उनको मोटरसाइकलसमेत लुटेका थिए।
ढकालसहितका व्यक्तिले आफूहरू सुरक्षाकर्मी हौं भनी खनाललाई बोल्न कराउन नदिइकन एकान्तमा लगेका थिए। उक्त घटनामा ढकालसहित ११ जना संलग्न भए पनि अन्य सबै फरार छन्।
ढकाललाई तत्कालीन पुनरावेदन अदालत पाटनले थुनामा राख्न आदेश दिएको भए पनि उनी म्याद गुजारेर बसेका थिए। पछि जिल्ला अदालतले कैद तोकेपछि उनी विदेशमा बस्दै आएका थिए। ढकालले २०६३।११।१३ को पुनरावेदन अदालत पाटनको आदेशले निजलाई थुनामा राख्ने आदेश भएपछि निज तारेख गुजारी बसेकोमा मिति २०६४ साल भदौ ६ गतेको काठमाण्डौ जिल्ला अदालतले ६ बर्ष कैद र एकलाख ९६ हजार ६ सय ५० रुपैयाँ जरिवाना सजाय हुने फैसला सुनाएको थियो ।
तिहारको समयमा घर आएको थाहा पाएपछि प्रहरी टोली ढकालको खोजीमा निस्केको थियो।

