चोरी भएका ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर सवारी धनीलाई हस्तान्तरण


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।

कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् ।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समुहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाईएको छ ।

युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ । महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया