

आइतबारदेखि सिभिल अस्पतालको सम्पुर्ण सेवा नियमित

काठमाडौं – काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालले यही असार २५ गतेदेखि आफ्ना सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ। कोभिड १९ का कारण आंशिकरुपमा संचालन हुँदै आएका सेवाहरु २५ असारदेखि नियमितरुपमा संचालनमा आउने अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधी पौडेलले बन्द गरिएका सेवाहरु २५ असारबाट नियमित सुचारु गर्ने जानकारी दिए। बुधबार प्रकाशति विज्ञप्तिमा बन्द गरिएका सेवाहरु २५ असारबाट नियमित रुपमा सुचारु गर्ने जानकारी गराएको छ।
गत जेठबाट सिभिल अस्पतालमा कोभिडका बिरामीको उपचार गरिँदै आएको छ। बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग भएको सम्झौता अनुसार १५० शय्यको अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको थियो। कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरु पुरानै लयमा फर्कन थालेका छन्।
संक्रमितको संख्या घटेपनि कोरोना जोखिम कायम रहेकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञहरुले औंल्याउँदै आएका छन्।उपत्यकामा निषेधज्ञा खुकुलो पार्दै लगिएको छ। पछिल्लो समय थपिएको निषेधज्ञा ३१ असारसम्म लम्ब्याइएको छ। सबै प्रकारका सवारी साधन संचालनमा आएका छन्।

