

काेभिड-१९ प्रभावः २२ वटा सिनेमा हल सधैंका लागि बन्द

काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिमका कारण नेपालको मनोरञ्जन क्षेत्र सबैभन्दा मारमा परेको छ । खासगरी लामो समयदेखि सिनेमा हलहरु बन्द हुँदा एकातिर करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका सिनेमा प्रदर्शन हुन सकेका छैनन् भने अर्कोतिर दर्शकलाई मनोरञ्जन गराउँदै आइरहेका सिनेमा हल समेत लामो समयदेखि बन्द हुन बाध्य छन् ।
संक्राण्मो जोखिमकै कारण जारी निषेधाज्ञाको क्रममा नेपाली फिल्मको निर्माणमै कमि आइरहँदा तथा लामो समयदेखि सिनेमा हलहरु खुल्न नपाउँ कतिपय सिनेमा हलहरु सधैंका लागि बन्द हुने क्रम बढेको छ । पछिल्लो पटक काठमाडौंको कमलपोखरीस्थित कुमारी सिनेमा हल सधैंका लागि बन्द हुने भएको हो ।
कोरोना संक्रमणको जोखिमपछि जारी निषोज्ञाका कारण सिनेमा हल लामो समय सम्म बन्द भइरहँदा खर्च धान्न नसक्ने भएपछि कुमारी सिनेमा हल बन्द गर्ने घोषणा गरिएको हो ।यसअघि क्युएफएक्स चेनको हात्तिसारमा रहेको जय नेपाल सिनेमा हल पनि लकडाउनपछि नै सधैंका लागि बन्द भइसकेको छ । कुमारी सिनेमा हलभित्रका सामानहरू शनिवारदेखि हटाउन थालिएको छ ।
योसंगै सिनेमा हल भएको भवन अन्य प्रयोजनमा प्रयोग गरिने बताइएको छ । ३७ वर्षको इतिहास बोकेको सिनेमा हल बन्द गर्नु पर्दा दु:ख लागेको क्युएफएक्सले जनाएको छ । सिनेमा हल सधैंका लागि बन्द गर्नुपर्ने अवस्था आउला भन्ने यसअघि नसोचेको समेत क्यूएफएक्सको भनाइ छ ।
यसैबीच, नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोना संक्रमणको प्रकोप प्रारम्भ भएसंगै हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेको तथा ३०-४० वटा सिनेमा हल बन्द हुने अवस्थामा रहेको बताएका छन्।

