अपहरण भएको दाबी गरिएकी सुजिता ९ दिनपछि मृत भेटिइन्, प्रहरीमाथि खनिए आफन्त


काठमाडौं– चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारी वेपत्ता भएको ९ दिनपछि मृत फेला परेकी छन्।

ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार राती प्रहरीले फेला पारेको थियो। रातभरी सुरक्षा दिइएको शव पोस्टमार्टमका लागि सोमबार भरतपुर अस्पताल लगिएको छ।

प्रहरीले समयमा नै खोजी नगरेको भनी आफन्त र परिवारजन आक्रोशित भएका छन्। प्रहरीमाथि खनिएका उनीहरुले सडक अवरुद्ध गरी शव नबुझ्ने अडान लिएका छन्।

उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। सोसँगै किटनाशक औषधि पनि फेला परेको बताइन्छ। मृतकको च्यात्तिएको झोला पनि फेला परेको छ।

उनको अपहरण भएको दाबी गरिएको थियो। सो विषयमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया