सानेपामा भारतीय नागरिकको हत्या, घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन


काठमाडौं – ललितपुर सानेपाको गुसिटोलमा रहेको राममन्दिर नजिकै मृत अवस्थामा फेला परेको व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ। भारतको राजस्थान घर भएका ४९ वर्षीय सत्यनारायण पारिख रहेको प्रहरीले जनाएको छ।

राममन्दिरनजिकै डेराभित्र पारिखको शव घोप्टो परेको अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।

इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएका पारिख विगत १०/१२ वर्षदेखि उक्त ठाउँमा डेरा गरी बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृत्यु शुक्रवारतिरै भएको हुनसक्ने प्रहरी अनुमान छ।

शव गन्हाउन थालिसकेको अवस्थामा फेला परेको थियो। घटनास्थलको प्रकृति हेर्दा झ्यालबाट छिरेर हत्या गरेको जस्तो देखिने एसएसपी बज्राचार्यले बताइन्।

घटनास्थलमा कुकुर परिचालन गरिएको छ। डेरामा पसेको कुकुर त्यहाँबाट निस्किएर सडकतर्फ अगाडि बढेको छ। ‘अहिले तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा खोज्ने काम भइरहेको छ,’ उनले भनिन्।

पारिखको हत्या कसले किन गर्यो? अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया