दुई पटक सजाय पाइसकेको युवक फेरि तेस्रो पटक गाँजासहित पक्राउ


काठमाडौं – धनुषामा लागूऔषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको गोप्य सूचना पाएपछि उनलाई शुक्रबार राति घरबाटै पक्राउ गरिएको हो।

उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

महासेठ यसअघि २०७४ साल साउन १५ गते पनि १ किलो गाँजासहित पक्राउ परेका थिए। उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए।

त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँजासहित पक्राउ परेका थिए। प्रहरीले लागूऔषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको प्रहरी प्रवक्ता मिश्रले बताए।

प्रतिक्रिया