फेसबुकमा भाइरल फोटोः पहिरोले जुराएको ६ बेहुलाको भेट


काठमाडौं – ६ जना बेहुलाको फोटो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ। विभिन्न फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका फेसबुक प्रोफाइलहरुमा पनि यो फोटो निकै सेयर भएको देखिन्छ। यो फोटोको तथ्य के हो, हामीले खोजेका छौँ।

उक्त फोटो मुग्लिन–नारायणगढ सडकखण्डमा खिचिएको हो। फोटो खिच्नकै लागि सामूहिक रुपमा ६ जना बेहुला लाइन लगाएर बसेका देख्न सकिन्छ। विगत एक हप्तादेखिको निरन्तर वर्षाको कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो गएपछि ६ बेहुलाको भेट जुरेको हो।

‘अविरल वर्षापछि पहिरोले सवारी साधन रोकिँदा पृथ्वीराजमार्गमा दुलाहहरू यसरी भेला भएर फोटो खिचेछन्,’ पत्रकार प्रशन्न पोखरेलले समेत ट्विटरमा पोष्ट गरेका छन्। सम्भवतः यो तस्बीर कालान्तरमा ऐतिहासिक तस्बीर हुनेछ। जबकी अहिलेसम्म यस्तो फोटो खिच्ने अवसर जुटेको छैन होला।

पहिरोले बाटो बन्द भएपछि उनीहरुले सामूहिक रुपमा तस्बिर खिचाएको इलाका प्रहरी कार्यालय, मुग्लिन चितवनले जनाएको छ। ‘भाइरल फोटोमा देखिएका बेहुलाहरुको को हुन् थाहा छैन, पहिरोले बाटो बन्द भएपछि हामी बाटो खोल्नतिर लाग्यौं,’ एकजना प्रहरी जवाले भने।

बेहुलाहरु अलपत्र परेपछि सामाजिक सञ्जालमा उनीहरुको बारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। गोरखा नाम्जुङका जिपी लामिछानेले फेसबुकमा लेखेका छन्, ‘नारायणगढ–मुग्लिन सडक अवरोधका कारण अलपत्र ६ जना बेहुला।
उता बेहुलीको मेकअप बिग्रेर भरे नचिन्ला, भन्ने डर! हे बरै!’

यो फोटो गोरखाका ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन्।

प्रतिक्रिया