सेनाका जर्नेल ठगी मुद्दाको विवादमा मुछिए, एसपी र सरकारी वकिलको पनि मिलेमतो शंका


काठमाडौं– ठगी मुद्दाका अभियुक्त नेपाली सेनाका दुई तारे जर्नेल (सहायक रथी) हेमराज केसीको संरक्षणमा रहेको पाइएको छ। सहायक रथी केसीमाथि प्रहरी प्रशासन तथा सरकारी वकिलहरुलाई प्रभावमा पारेर ठगी मुद्दाका आरोपी प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको आरोप लागेको छ।

ठेकेदार ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन्। नातामा मल्ल जर्नेल केसीका सम्धी पर्ने समेत खुलेको छ। आफ्ना व्यापारिक साझेदार राजकिशोर साहसँग जग्गा खरिद प्रकरणमा ठगी मुद्दामा परेका मल्ललाई जर्नेल केसीले जिल्ला प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा उन्मुक्ति दिएको आरोप छ।

सेनाको उच्च तहमा पुगेका केसी सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका प्रमुख हुन्। केसीले धनुषाका प्रहरी उपरिक्षक (एसपी) प्रकाश रानाभाट, सरकारी वकिल सिताराम अर्याललाई दबाब र प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिलाउन शक्तिको दुरुपयोग गरेको पीडित पक्षको आरोप छ।

ठेकेदार मल्ल गत आइतबार सहायक रथी केसीको सम्पर्कमा आएका थिए। प्रहरीद्वारा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई यसअघि बाहिनीपति केसी आफैंले पदको रवाफमा चार दिनसम्म धनुषाको महेन्द्रनगरस्थित सेनाको ब्यारेकमा लुकाएर राखेको समेत खुलेको छ।

प्रहरीको फरार सूचीमा रहेका अभियुक्त मल्ललाई त्यसपछि जर्नेल केसीले आफ्नै गाडीमा जनकपुर पुराएका थिए। जनकपुरधाम पुगेपछि उनी सिधै सरकारी वकिल कार्यालय पुगे पनि फरार सूचीमा रहेका मल्ललाई भने धनुषा प्रहरीले पक्राउ गर्न सकेन्।

गत बुधबार प्रहरी कार्यालयबाट उन्मुक्ति पाएका मल्ललाई प्रहरी कार्यालयमा कागज मिलाउँदा भने मंगलबार राति उनलाई प्रहरी हिरासतमा राखिएको भनिएको छ। तर, सहायक रथी केसीको दबाबमा मल्लले उन्मुक्ति पाएको पीडित पक्षको आरोप छ।

कागजमा स्वास्थ्यलाई कारण देखाउँदै मल्ललाई छाडिएको धनुषाका एसपी रानाभाटले पुष्टि गरे। ‘सरकारी वकिलको कार्यालय जाँदा हाम्रो सादा पोसाकको प्रहरी टोलीले नै लिएर गएको हो। पछि स्वास्थ्यको कारण देखाएर सरकारी वकिलको कार्यालयबाट मल्ललाई छाडिएको हो,’ एसपी रानाभाटले भने।

‘आफ्नो नातेदार पर्ने भएकाले जर्नेल केसी पनि मल्लसँगै आउनुभएको थियो,’ एसपी रानाभाटले भने, ‘जर्नेल आएपछि सबैको ध्यान त्यता खिच्यो। अनि सरकारी वकिलको कार्यालयमा प्रहरी नगएको भनिएको हो। लेनदेनको मुद्दा भएकाले अब अदालतमा अर्को बाटो पनि छ।’

तीन वर्षअघि ठगी मुद्दाका आरोपी मल्लको नाममा जनकपुरका राजकिशोर गुप्ताले जनकपुरस्थित थापा चोकको २२ धुर जग्गा पास गरिदिएका थिए। उनीहरु दुवैजना ठेकापट्टाको काम गर्थे। गुप्ताले व्यवसायका लागि २ करोड लगानी गर्न मल्लको नाममा पास गरिदिएका थिए। तर, उक्त जग्गा मल्लले सम्झौता विपरित बेचिदिए।

त्यसपछि साहले प्रहरी गुहारेका हुन्। मल्लमाथि गुप्ताले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए। यता, गुप्ताले फिर्ता गर्ने सर्तमा विश्वास गरेर मल्लको नाममा जग्गा पास गरिदिएको बताउँछन्। साहका अनुसार अहिले उक्त जग्गाको मूल्य करिब १० करोड रूपैयाँ बराबरको छ।

ठेकेदार मल्ललाई बुधबार बिहान प्रहरीले छानबिन तथा अदालतमा पेस नै नगरी रिहा गरेपछि साहले पत्रकार सम्मेलन गरी जर्नेल केसीले आफूलाई धम्की दिइरहेको बताएका थिए।

‘फिर्ता गर्ने सर्तमा मल्लका नाममा जग्गा पास गरिदिएका थियौं तर मलाई जानकारी नै नदिई जग्गा बेचेको धेरै पछि थाहा पाएँ। अहिले म घरको न घाटको भएको छु,’ गुप्ताले भने।

ठेकेदार गुप्ता भन्छन्, ‘ठगी मुद्दा खारेजी गर्न ठूलो रकमको चलखेल भएको छ। अदालतबाट न्याय पाउँछु भन्ने विश्वास थियो। तर जर्नेल केसीले एसपी रानाभाट र सरकारी वकिलसँग मिलेर ममाथि अन्याय गर्न लागेका छन्।’

ठेकेदारहरू राजकिशोर गुप्ता र प्रेमकुमार मल्लबीचको विवादमा जर्नेल मुछिन पुगेका हुन्। साह र मल्लबीच जग्गा विवादमा गुप्ताले मल्लमाथि ठगीको मुद्दा हालेको तर उक्त मुद्दा फिर्ता लिन केसीले दवाव दिएको ठेकेदार साहको भनाइ छ।

प्रतिक्रिया