प्रोत्साहनसहित विद्यार्थी भर्ना गरिँदै


टीकापुर – कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन ।

यद्यपि सरकारले असार १ गतेदेखि शैक्षिक सत्र शुरु गरेपछि यहाँका विद्यालयले पनि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्न थालेका हुन् । कैलालीका विद्यालयले पाठ्यपुस्तक वितरण, मास्क, स्यानिटाइजर वितरण गरिरहेका छन् भने निजी विद्यालयले त साना कक्षामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना लिन थालेका छन् ।

यहाँका विद्यालयले सरकारको निर्देशनानुसार निःशुल्क भर्ना र पाठ्यपुस्तक वितरणका कार्यक्रम गर्दै आएका छन् । विद्यालयले आफैँ कक्षाअनुसार विद्यार्थी बोलाई विद्यार्थी भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गरिरहेका छन् । विद्यालयले भर्ना अभियान र घरदैलो गर्न नसके पनि विद्यार्थी र अभिभावकमार्फत विद्यार्थीलाई समयमै भर्ना हुन जानकारी गराउन थालेका छन् । कतिपय विद्यालयले विद्यार्थीको घरघरमै गएर पाठ्यपुस्तक वितरण गर्न थालेका छन् ।

विगतका वर्षमा वैशाख महिना पहिलो सातादेखि सञ्चालन हुँदै आएको भर्ना अभियान कोरोनाका कारण यस वर्ष भने असार महिनामा गरिँदैछ । गत वर्ष पनि कोरोनाका कारण प्रभावित भएको विद्यालय भर्ना अभियान यस वर्षसमेत प्रभावित भएकाले कक्षा छाड्ने डर रहेको उनीहरूको भनाइ छ । सरकारको निर्देशनानुसार असार महिनामा विद्यार्थी अभिलेखीकरण अथवा भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गर्नु भनेबमोजिम फरकफरक कक्षा र शिक्षकको व्यवस्था गरी भर्ना लिइरहेको टीकापुरस्थित कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए । “हामीले भर्ना अभियान शुरु गरेका छौँ । लामो समयदेखि घरमै बसेर बालबालिकाले पढ्न बिर्सन थालेका छन्”, उनी भन्छन्, “भर्ना गरेर किताब पाएमा विद्यार्थी कम्तीमा घरमा त पढ्लान । अब पालिकाको निर्णयानुसार विद्यालय सञ्चालनबारे टुङ्गो लाग्नेछ ।”

कर्णाली माविले भर्ना अभियानसँगै छात्रवृत्ति वितरण, पुस्तक वितरणजस्ता विद्यार्थी आकर्षित गर्ने कार्य गर्न थालेको उनको भनाइ छ । सबै विद्यार्थी र अभिभावकलाई जानकारी होस् भनी सार्वजनिक सूचना र विद्यार्थीमार्फत अन्य विद्यार्थीलाई पनि जानकारी गराउने गरिएको उनी बताउछन् । “वैशाखदेखि विद्यालय बन्द छन् । गत वर्ष पनि पाठ्यक्रम पूरा हुने गरी राम्ररी पढाइ भएन”, शर्माले भने, “कोरोना प्रभाव अझै रहेकाले भौतिक दूरी कायम गरी यी सबै क्रियाकलाप गरिरहेका छौँ ।”

यस्तै प्रगतिशील प्राथमिक विद्यालय एकतानगरले पनि कक्षानुसार विद्यार्थी बोलाई पाठ्यपुस्तक र छात्रवृत्ति प्रदान गर्न थालेको प्रधानाध्यापक कल्पना स्वर्णकारले बताए । ‘छात्रवृत्तिले विद्यार्थीलाई आकर्षित गर्छ’, उनले भने, ‘हामीले दूरी कायम गरेर विद्यालयका आन्तरिक काम र विद्यार्थी भर्ना कार्य गरिरहेका छौँ ।’

कोरोनाका कारण विद्यार्थी अभियान अभियानकैरूपमा सञ्चालन गर्न नसकिए पनि सबै सरोकारवाला पक्ष जिम्मेवार भई विद्यालय जाँदै गरेका विद्यार्थी र विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुँचसम्म पु¥याउन सबैलाई सहयोग गर्न टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउछन् । ‘विद्यालय नियमित नचल्दा विद्यालय छाड्ने जोखिम बढी रहन्छ । विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन आवश्यक छ’, अधिकृत अवस्थी भन्छन्, ‘हामी सबैले यो अभियानमा सहकार्य गर्न आवश्यक छ । विद्यार्थी आकर्षित गर्न पालिकाले छात्रवृत्तिलगायतका कार्यक्रम गर्दै आएको छ ।’

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो ।

छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४० विद्यार्थीललाई यो सुविधा दिइने नगरपालिकाको तयारी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “आवेदन सङ्कलनका लागि विद्यालयलाई जिम्मा दिएका छौँ । विद्यालयले आवेदन दिन विद्यार्थीलाई सघाउनेछन्”, शिक्षा शाखा प्रमुख चौधरीले भने, ‘अब स्थानीय ठाउँमै प्राविधिक शिक्षामा पालिकाले सघाउने उद्देश्य हो । यसले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लाभ हुनेछ ।’ नगरपालिकाले विद्यार्थीलाई बाली विज्ञान तथा ओभरसियर अध्ययनमा छात्रवृत्ति दिनेछ । नगरपालिकाले यसका साथै जोहेन्दार, अनाथ, असहाय र गरिब विद्यार्थीका लागि पनि उपमेयर छात्रवृत्ति कार्यक्रम अघि सारेको छ । यस्ता विद्यार्थीलाई सघाउन रु १० लाख रकम विनियोजन गरेको छ । यस कार्यक्रमअन्तर्गत कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया