तीन कोइराला तीनतिर, विपरित ध्रुवमा रहेका सिटौला र सुजाता कसरी जोडिए?


काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको विरासतमा फर्किने तयारीमा रहेको कोइराला परिवारका तीन सन्तान तीनतिर देखिएका छन्।

१४ औं महाधिवेशनमा नेतृत्वमा दाबी गरिरहेका शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला तीनतिर देखिएका हुन्। शेखरले रामचन्द्र पौडेल र गगन थापासँग सभापतिमा उठ्ने चर्चा चलाएका छन्।

उनले पौडेललाई चुनावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै अघि बढाउने प्रतिबद्धता गर्दै सभापतिमा सघाउनका लागि भनेका थिए। भलै पौडेलले यस विषयमा उत्तर दिएका छैनन्। बरु, एक बर्षका लागि सभापति हुने इच्छा देखाएका थिए।

स्रोतका अनुसार पौडेलले शेखरलाई आफू कांग्रेसको नेतृत्वमा एक बर्षका लागि भए पनि रहने इच्छा जाहेर गर्दै सहयोग गर्न भनेका थिए। तर, शेखरले भने नयाँ र पुराना पुस्तालाई मिलाएर लैजाने तयारीमा रहेकाले सभापतिमा सघाउन भन्दै प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए।

उता शशांक भने विमलेन्द्र निधि र प्रकाशमान सिंहको समूहमा खुलेर लागेका छन्। तीन जना मध्ये एक जना सभापतिमा उठ्ने सहमति बनाउने तीनै नेताको तीनवटा बैठक चलेको छ। सकभर सहमतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका उनीहरुले त्यस्तो अवस्था नआए सभापतिमा तीन जना मध्ये एक जना लड्ने भएका छन्।

उता सभापतिमा दाबी गरेकी सुजाता कोइरालाले पौडेल र कृष्ण सिटौलासँग परामर्श गरेकी छन्। सहमतिमा एउटा उम्मेदवार तयार पार्न सुझाव दिँदै सुजाताले त्यस्तो अवस्था नआए महिला सभापतिका रुपमा आफूलाई अगाडि बढाउन भनेकी छन्।

तर अचम्मको कुरा के भने कांग्रेसमा दुई ध्रुवमा उभिने सुजाता र सिटौला कसरी एउटै कित्तामा उभिए भन्ने रहेको चर्चा छ। ‘यी दुई जनाबीच एउटै क्याम्पमा रहेर महाधिवेशनमा जाने वातावरण बन्छ भन्ने लागेको थिएन तर समीकरणमा जे पनि हुने रहेछ’, स्रोतले भन्यो।

स्व. गिरीजाप्रसाद कोइरालाको राजनीतिक लिगेसीलाई कायम राख्नका लागि सुजाता र सिटौला नजिक भएको टिप्पणी कतिपयले गरेका छन्। तर, १३ औं महाधिवेशनको केही बर्षपछि सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाउन थालेपछि सिटौला कोइराला क्याम्पमा निरन्तर परामर्शमा रहेका थिए।

प्रतिक्रिया