

सशस्त्र डिआईजी श्रेष्ठको कार्यअवधि थपियो

काठमाडौं – सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थपिएको छ ।
मन्त्रिपरिषद् बैठकले श्रेष्ठको सेवाअवधि सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने प्रावधानमा टेक्दै डीआईजी श्रेष्ठको सेवाअवधि एक वर्ष थप गरेको जनाइएको छ । पदावधि थपिए पछि श्रेष्ठको सशस्त्र प्रहरी प्रमुख बन्ने बाटो खुलेको छ ।
श्रेष्ठको पदावधि एक वर्ष थप गरेको जानकारी गृह मन्त्रालयले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई गराएको सशस्त्र मुख्यालयले जनाएको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र डीआईजीको पदावधि चार/चार वर्ष तोकिएको छ । सोही प्रावधानअनुसार श्रेष्ठ डीआईजी भएको आज राति १२ बजे चार वर्ष पूरा भएर अनिवार्य अवकासमा जाँदै थिए ।
वर्तमान आईजीपी शैलेन्द्र खनालको कार्यकाल यही २५ चैतमा सकिँदैछ । उनको कार्यकालपछि थोरै समयका लागि पुष्पराम केसीले सशस्त्र प्रहरी बल सम्हाल्नेछन् । उनीपछिको वरीयतामा श्रेष्ठ सबैभन्दा उच्च बरियतामा रहने डीआईजी हुन् । यसअघि सरकारले डीआईजीद्वय खड्क राई र मन्दीप श्रेष्ठको कार्यकालसमेत एक/एक वर्ष थप गरेको थियो ।

