

सर्वोच्चको फैसला सेटिङमा भएको आरोप लगाउदै महेश बस्नेत भने – जे भैरहेको छ ठीक भैरहेको छैन

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले न्यायालयको फैसलाको विश्वसनीयता बारे प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते गरेको मन्त्रीमण्डल विस्तारका विरुद्धमा परेको रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रतिलाई लक्षित गर्दै न्यायालयको विश्वसनीयतामा शंका उब्जिएको बस्नेतले बताएका छन् ।
बस्नेतले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा विशेष सूचना प्राप्त गरेर बनेको भनाई प्रति लक्षित गर्दै न्यायालयप्रति शंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ हुने शंका ब्यक्त गरेका छन् ।
उनले लेखेका छन् -अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन।राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।
’

