थरकै कारण कोठा नदिएकी घरबेटी बबरमलबाट पक्राउ


काठमाडौं – प्रहरीले जातको कारण कोठा भाडामा नदिने घरबेटीलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षीया सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

जात थाहा पाएपछि कोठा नदिएको जाहेरीको आधारमा आइतबार प्रधानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।

जातकै कारण कोठा नदिने भनेपछि तनहुँकी २४ वर्षीया रुपा सुनारले गत ३ असारमा घरबेटी प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिइन्।

प्रधानविरुद्ध जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाउने एसएसपी सिंहले बताए।

आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्।

सुनार सञ्चारकर्मी समेत हुन्।

प्रतिक्रिया