

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

दोलखा – चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन्।
एकैपटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ। स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो।
जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो।दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको बताए।
बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ।
गत असार १ गते तामाकोशी नदीमा आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो। सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ। बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ।
जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ।

