डडेल्धुरामा हत्या गरी फालिएको अवस्था एक कर्मचारीको शव फेला, अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन


डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।

गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो । घरपरिवार तथा स्थानीयवासीले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरी फालिएको अवस्थाजस्तो देखिएको छ । प्रहरीले भने शव परीक्षणपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताएको छ ।

घटनाको अनुसन्धानका लागि सङ्घीय इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा एउटा टोली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)का नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै टोली आइतबार बिहान घटनास्थल प्रस्थान गरेका छन् ।

असार २ गते परशुराम–८ को जमरानी स्वास्थ्य केन्द्रबाट कोभिड १९ का बाँकी रहेका स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी धामीको शनिवार सामुदायिक वनमा शव फेला परेको थियो । शव पोष्टपार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया