

बिहे गरेको २७ दिनमै ‘शंकास्पद मृत्यु’ भएकी विष्णु बराल प्रकरणको भित्री कथा के हो?
प्रहरी वा आफन्तको रोहबरबिना झुण्डिएको डोरी काट्न मिल्छ?

काठमाडौं – ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको भिडियो प्रमाणस्वरुप अदालतमा पेश गर्दा पनि अदालतले अभियुक्तलाई धरौटीमा रिहा गरेपछि चितवनकी ‘सबिता भण्डारी मृत्यु प्रकरण’ एकाएक चर्चामा आएको थियो। ४ वैशाखमा सबिता आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
आफ्नी छोरीलाई कुदृष्टि लगाउने ससुरा रमेश धिताल र ज्वाई योगेन्द्र धिताललाई चर्को कारबाही हुने अपेक्षमा थिए सबिताको माइती पक्ष। तर, सोचे जस्तो भएन। ‘अपराधी’को ट्याग पाइसकेका उनीहरु दुवैजना शक्तिको आडमा रिहा हुन सफल भए। त्यसपछि ‘जस्टिस फर सबिता’ भन्दै सामाजिक सञ्जाल तात्यो।
सबिताको न्यायको लागि अहिले पनि दिनहुँ प्रदर्शन हुन्छ। तर, पीडितले न्याय पाउन सकिरहेका छैनन्। पीडितलाई उल्टो पीडा थप्ने काम प्रहरी प्रशासन र जिल्ला अदालत चितवनले गरेको अभियन्ताको नाममा चनिएिकी सावित्री सुवेदी ‘जयनारी’ बताउँछिन्।
सबिताको लागि न्याय मागिरहँदा रुपन्देहीमा एक युवती मृत्यु प्रकरण चर्चामा आएको छ। घटनाको एक महिनापछि सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भइरहेको छ। मृत अवस्थामा फेला परेकी युवतीको बारेमा प्रहरीले जाहेरी लिन नमानेको भन्दै आलोचना भएको हो।
१४ जेठमा कास्की पोखरा महानगरपालिका–२२ खाल्से दोबाटे माइती घर भएकी २३ वर्षीया विष्णु बराल रुपन्देहीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन्। झुण्डिएको अवस्थामा बराल मृत भेटिएको भने पनि उनी झुण्डिएको न प्रहरीले देखेको छ, न माइती पक्षले। त्यसैले घटना शंकास्पद बन्यो।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीत सिंह राठौर पोष्टमार्टम रिपोर्टमा विष्णु बरालले आत्महत्या गरेको आएको बताउँछन्। ‘पोष्टमार्टममा आत्महत्या भनिएको छ। कसरी चाहिँ कर्तव्य ज्यान मुद्दामा जाहेरी लिन मिल्छ त? विष्णुको आफन्तहरु कर्तव्य ज्यानमा जाहेरी लिएर आउनुभएको थियो, मैले मिल्दैन भनेको हो,’ उनी भन्छन्।
विवाह भएको महिना दिन नबित्दै बराल मृत भेटिइन्। २७ दिनमै बराल मृत भेटिएपछि माइती पक्षले आत्महत्या नभएर हत्या भएको आरोप लगाएका छन्। बरालको १७ वैशाखमा बुटवलको मणिग्राम मन्दिरबाट विवाह भएको थियो। रूपन्देहीको सैनामैना नगरपालिका–१ बर्मा चोक घर भएका प्रदीप भट्टराईसँग उनको राजीखुसी विवाह भएको थियो।
यता, प्रदीपको घर पक्षले विष्णुले आत्महत्या गरेको दाबी गरे पनि त्यसको कुनै प्रमाण नदेखिएको भन्दै माइती पक्षले शंका व्यक्त गर्नु स्वभाविक रहेको बताइन्छ। ‘भुन्डिएर मरेको भन्छ, तर झुन्डिएको अवस्थामा न त प्रहरीले देख्यो नत माईती पक्षले नै देख्यो,’ केटी पक्षका एक आफन्त भन्छन्।
२७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। उनकी आमाको आँखा ओभाएका छैनन्। १७ वैशाखमा लाखौं रुपैयाँ खर्च गरेर विवाह गरेको एक महिना नपुग्दै १४ जेठमा विष्णुको मृत्यु भएपछि घटना रहस्यमय बनेको छ।
माइतीले दाईजोका कारण छोरीको मृत्यु भएको आशंका गरेका छन्। विवाह भएको केही दिनमै फोनमा आमालाई छोरी विष्णुले ज्वाँईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन्। उनले दुल्हन फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी पाइएको छ।
तर, दुल्हन फर्काउन नपाउँदै छोरीको मृत्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको छ। भान्जीले छोरीको विवाह गरिदिनु भनेपछि आफूहरुले सल्लाह गरेर विवाह गराएको आमाको भनाइ छ।
उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ मद्रानी घाइघाटकी पार्वती गौतमले गराइ दिएकी थिइन्।
सुनको औंठी ठूलो माग्नुले कतै मानसिक तनावमा विष्णुले आत्महत्या त गरेको होइन भन्ने प्रश्न उब्जिएको छ। ‘कसैले मानसिक यातना दिएको छ भने प्रमाण लिएर आउनु, हामी कारबाही गर्न तयार छौं,’ डिएसपी राठौर भन्छन्।
यस विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए। प्रहरी नआउँदै मृतकको शव झिकिएको र प्रहरीले जाहेरी लिन नमानेपछि युवतीको माइती पक्षले घटनाको सत्यतथ्य बाहिर निकाल्न माग गरेका छन्।
प्रहरी वा मृतकको आफन्तबिना झुण्डिएको अवस्थामा डोरी काट्न मिल्छ भन्ने प्रश्नमा डिएसपी राठौरले भने, ‘जो कोहीलाई पनि बाँच्छ कि भन्ने झिनो आशा हुन्छ, त्यस्तो अवस्थामा डोरी काट्न सक्छन्, यसलाई अन्यथा लिन हुन्न।’
यसअघि चितवनकी सबिता भण्डारी झुण्डिएका अवस्थामा मृत भेटिएकी भने पनि प्रहरी घटनास्थल नपुग्दै माइती पक्षलाई समेत खबर नगरी डोरी काटेर झिकिएको थियो।

