निषेधाज्ञामा मजदुर र विपन्नलाई निःशुल्क खाना खुवाउँदै एलओडी


काठमाडौं – सरकारले विश्वव्यापी महामारी दोस्रो चरण्को कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन देशभर निषेधाज्ञा आदेश जारी गरेको छ। निषेधाज्ञाको ५० औं दिन पूरा भइसकेको छ।

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन निषेधाज्ञा आदेश जारी गर्नु देश र देशबासीका लागि सकारात्मक काम भएपनि निषेधाज्ञाको असर सबैभन्दा बढी विपन्न र मजदुरहरुलाई परेको छ।

ज्याला मजदुरी गरी विहान–बेलुकीको गुुजारा चलाउँदै गएका विपन्न मजदुरको चूल्होमा आगो बल्न छाडेपछि ठमेलस्थित एलओडी क्लब उनीहरुको सहयोगमा जुटेको छ। कोरोनाविरुद्धको सरकारको लडाईमा साथ दिँदै एलओडीले विपन्न मजदुर र वेसहाराहरुलाई निःशुल्क खाना वितरण गरिरहेको छ।

एलओडीले क्लब अगाडिबाट लगातारको निषेधाज्ञाबाट आक्रान्त दैनिक ज्यालादारी तथा विपन्न नागरिकलाई सहयोग गर्ने अभिप्रायले निःशुल्क खाना वितरण थालेसँगै दैनिक दुई सय बढी विपन्न तथा श्रमिक नागरिकलाई राहत मिलेको छ।

निःशुल्क वितरण गरिएको खाना लिनका लागि ठमेल, जमल, रत्नपार्क, सोह्रखुट्टे, न्यूरोड तथा सामाखुसी क्षेत्रबाट समेत विपन्न तथा दैनिक ज्यालादारीका नागरिकहरु आउने गरेका छन्।

विभिन्न सडकपेटीमा बस्दै आएका दुई सय बढी बेसहारा, मजदुर र विपन्नलाई अहिले विहान–बेलुकै निःशुल्क खानाको व्यवस्था मिलाइरहेको एलओडीका म्यानेजिङ डाइरेक्टर भुपेन शमसेर कुँवरले जानकारी दिए।

कुँवरका अनुसार विगत तिन दिनयता एनओडीले बेलुकी ५ बजेदेखि ७ बजसम्म निःशुल्क खाना वितरण गरिरहेको छ। ‘लगातारको निषेधाज्ञाले दैनिक ज्यालादारीमा जिवनयापन गर्ने वर्गहरुलाई समस्या परेको महसुस गर्यौं। हामीले आफ्नै साधन श्रोत जुटाएर निःशुल्क खाना वितरण गरेका हौं,’ कुँवरले भने।

एलओडीले निषेधाज्ञा नहटुञ्जेल निःशुल्क खाना वितरणको कार्य जारी रहने कुँवरले बताए। अहिले त्यहाँ दैनिक १५० देखि २०० जनासम्मले निःशुल्क खाना पाइरहेका छन्।

एलओडी नेपालकै ठूलो क्लब हो। ठमेलको मुटुमा अवस्थित एलओडीले आफ्नो व्यवसायसँगै समय–समयमा सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक काम समेत गर्ने गरेको छ।

प्रतिक्रिया