

कुमार घैंटे समूहका युवराजले सुरु गरे बितण्डा, युवा संघका नेतामाथि पेस्तोल देखाएर आक्रमण

काठमाडौं– इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ (घैंटे)को उत्तराधिकारी बताउने युवराज घले गुरुङको समूहले गुन्डागर्दी मच्चाउन थालेका छन्। यहि क्रममा ‘हिडेन’ डिस्कोको शेयर माग्दै राष्ट्रिय युवा संघका नेता राज गुरुङ भनिने मीनबहादुर गुरुङलाई उक्त समूहले आक्रमण गरेको छ।
बुधबार सो समूहले आक्रमण गरेपछि मिनबहादुरले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका छन्। युवराजको समूहले पेस्तोल देखाएर जबरजस्ती डिस्कोमा शेयर मागेको र दिन नसक्ने बताउँदा आक्रमण गरेको उजुरीमा उल्लेख छ।
घैटे इन्काउन्टर घटनामा प्रहरीलाई नै धम्की दिएको, हातहतियार र बुलेटप्रुफ ज्याकेटसमेत फेला परेपछि युवराजलाई तीन बर्ष जेल सजाय भएको थियो। आक्रमणपछि घाइते गुरुङको ग्रिन सिटी अस्पतालमा उपचार गरिएको उनका आफन्तले बताएका छन्।
आक्रमणकारी युवाराजलाई त्यसबेला प्रहरीले नुवाकोटबाट पक्राउ गरेको थियो। अहिले पनि काठमाडौं–नुवाकोटका कतिपय आयोजनाको ठेक्कामा युवराजले धम्क्याउने गरेको सूचना प्रहरीमा पुगेको छ।

