‘माइक ह्विस्की’ अपरेशनः माओवादी नेताको हत्यामा श्रीमती नै मुख्य योजनाकार!


पत्रकार सम्मेलन गर्दै कपिलवस्तुका एसपी नवराज अधिकारी।

काठमाडौं – कपिलवस्तुमा गत ५ जेठमा गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा ११ जेठमा काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। नेता पाण्डेमाथि २ राउण्ड गोली प्रहार भएको थियो।

घटनाको २५ दिनपछि हत्याको मुख्य योजनकार खुलेको छ। माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य समेत रहेका कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय पाण्डेयको गोली हानी हत्यामा उनकै श्रीमती महिमा पाण्डे मुख्य योजनाकार रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले पाण्डेयलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिए।

ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि नेता पाण्डेयको हत्या योजना बनेको थियो। करिब ३ वर्षअघि हत्याको योजना बनाए पनि महिमा र ओमप्रकाशको योजना सफल हुन सकेको थिएन। घटनाको २ दिनमै ओमप्रकाश पक्राउ परेका हुन्।

ओमप्रकाश र महिमाले पाण्डेयको हत्याको लागि हतियार खरिद र पटक–पटक पेशेवर अपराधीलाई बैना रकम दिने गरेको अनुसन्धानमा खुलेको छ। अनुसन्धानबाट ओमप्रकाश र महिमा मिलेर पाण्डेयको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम ओमप्रकाश एक्लैले गरेका थिए।

एसपी अधिकारीले भने, ‘हत्या योजना ३ वर्षअघि नै बनेको देखिन्छ। उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ। लामो समयपछि उनीहरुले आफ्नो योजना सफल बनाएको देखियो।’

प्रहरीले पाण्डेयको हत्यामा संलग्न मुख्य योजनाकार श्रीमतीसहित ११ जनालाई नियन्त्रणमा लिएपनि आज ९ जनालाई सार्वजनिक गरेको छ। घटनाको दुई दिनमै प्रहरीले घटनाका आरोपित कपिलवस्तु नगरपालिका–१ का ३९ बर्षीय ओमप्रकाश र सोही नगरपालिका–२ बस्ने साकिर अलि पाखियालाई पक्राउ गरेर कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको थियो।

सोमबार अर्थात आज श्रीमती महिमासहित कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु–१ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्तालाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट साथबाट हतियार, गोलीहरू बरामद भएका छन्। कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार ओमप्रकाश यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको छ।

यस्तै पक्राउ परेका अर्का अभियुक्त रमजान साह मुसलमानले पाण्डेयको हत्याका लागि ओमप्रकाशसँग पटक पटक गरेर एक लाख रुपैयाँ लिएका थिए। उनको साथबाट स्वचालित पेस्तोल म्याग्जिन र ८ राउण्ड गोली बरामद भएको छ।

पाल्पालीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित अली पखियालाई संरक्षण गरेका थिए। यस्तै सद्दाम हुसेन खानले पखियालाई हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेका थिए। ज्ञानेन्द्र कुमार पाण्डेयले गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद विक्री गर्ने कार्यमा सहयोग गरेका थिए।

००००००
गत ५ गते राति ११ बजे मोटरसाइकलमा रहेका तीन÷चार जना व्यक्तिले पाण्डेलाई गोली हानेका थिए। पाण्डेयमाथि गोली प्रहार भएको दिन मृतककी श्रीमती महिमा पनि सोही समूहसँगै रहेको खुलेको छ।

यादवले आफूले घटनामा प्रयोग गरिएको लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए। मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक–एक गोली हानेका थिए।

घटनापछि प्रहरी नायब उपरीक्षक भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर प्रहरीले अनुसन्धान सुरू गरेको थियो। घटनाको दुई दिनमै पाण्डेयलाई गोली हानेको आरोपमा सुरुमा प्रहरीले दुई जना पक्राउ गरेर अनुसन्धान थालेको थियो।

ओमप्रकाश र साकिर अलि पाखियालाई पक्राउ गरी अनुसन्धान सुरु गर्दै गएपछि प्रहरी मुख्य योजनकारसम्म पुग्न सफल भएको हो। जतिबेला पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिईबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेका थिए।

हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको भण्डारीले बताए। ओमप्रकाश र श्रीमती महिमाबीचको अनैतिक सम्बन्ध थाहा पाएयता विगत पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो।

यो सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै आफ्नो श्रीमान दीपकको हत्या बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्याको योजनापछि उनीहरुले कपिलवस्तु नगरपालिका–३ सडवास्थित तौलिहवा सडक खण्डमा पाण्डेयमाथि गोली प्रहार गरेका थिए।

मुख्य योजनाकार भनिएका ओमप्रकाश यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्। यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्।

पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ। अलि पखिया यसअघि समेत २०६४ मा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परी २ वर्ष कारागारमा थुनामा रही छुटेका कसुरदार हुन्।

प्रतिक्रिया