

देउवा र प्रचण्ड माधव नेपाल भेट्न कोटेश्वरमा

काठमाडौं – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ।
साँझ पौने ६ बजे शुरू बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। यसअघि विपक्षी गठबन्धनको बैठक प्रायः देउवाको निवासमा बस्ने गरेकोमा आज नेपालको निवासमा बसेको हो।
नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २ मा बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको बुझिएको छ।

