मृत भेटिए अभिनेता आसिफ
मुम्बई(एजेन्सी)– बलिउड अभिनेता आसिफ बसरा हिमाञ्चल प्रदेशको मेक्लोडगञ्जस्थित आफ्नो निवासमा बिहीबार मृत भेटिएका छन् । धर्मशाला नजिक रहेको मेक्लोडगञ्ज एक प्रसिद्ध पर्यटकीय स्थल हो ।
हिमाञ्चल प्रदेशका प्रहरी महानिर्देशक सञ्ज्य कुन्डुले आसिफको मृत्युको पुष्टि गरे । उनका अनुसार आसिफ पाँच वर्षदेखि मेक्लोडगञ्जमा बस्दै आएका थिए । उनी एक विदेशी महिलासँग मिलेर एक क्याफे रेष्टुरेन्ट चलाइरहेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याका कारण भएको मृत्यु मानेको छ । एसपी विमुक्त रन्जनले फरेन्सिक विशेषज्ञका साथ घटनास्थल पुगेर प्रमाण जम्मा गरेका छन् । गत महिना सीबीआईका पुर्व प्रमुख अश्विनी कुमार शिमलास्थित आफ्नो घरमा मृत भेटिएका थिए । प्रहरीले उनको मृत्यु आत्महत्या गरेर भएको बताएको थियो ।
५३ वर्षे आसिफले हालैमात्र वेब सिरिज ‘पाताल लोक’मा काम गरेका थिए । यसअघि उनले सन् १९९३ मुम्बई ब्लास्टमा आधारित फिल्म ‘ब्ल्याक फ्राइडे’ र सन् २००२ को गुजरात दंगामा आधारित फिल्म ‘परजानियाँ’मा अभिनय गरेका थिए । उनले ‘जब वी मेट’, ‘काई पो चे’, ‘क्रिश’ र ‘वन्स अपन ए टाइम इन मुम्बई’ जस्ता फिल्ममा पनि अभिनय गरेका थिए । उनले अंग्रेजी, हिन्दी र उर्दु थिएटरमा पनि अभिनय गरेका थिए ।