सशस्त्र एआईजी केसीविरुद्ध अख्तियारको छानबिन, गृहलाई पत्राचार


काठमाडौं– सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पुष्पराम केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख भ्रष्टाचार गरेको अभियोगमा छानबिन सुरु गरेको छ।

१६ साउन २०७६ देखि ०७७ को असार मसान्तसम्म सशस्त्र प्रहरी एकेडेमीको प्रमुख हुँदा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरिएको आयोगले जनाएको छ।

उनले नक्कली बिल बनाएर ५० लाख रूपैयाँ अनियमितता गरेको उजुरी परेको आयोगले जनाएको छ। आयोगले आवश्यक कारबाहीका लागि उजुरीको छायाँ कपीसहित गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

एआइजी केसीले एकेडेमी प्रमुख हुँदा कार्यविधिविपरीत तालिम भत्ताको नाममा थोरै रकम वितरण गरेको, गाडी मर्मत तथा इन्धन खर्चका नाममा १६ लाखको नक्कली बिल बनाएको, लत्ताकपडा र जुत्ता खरिद गर्दा जुत्ताबाट मात्रै ७ लाख कमिसन लिएको उजुरीमा आरोप छ।

यस्तै प्रत्येक तालिम केन्द्रबाट मासिक अवैध रूपमा पैसा उठाउने गरेको, तालिम केन्द्रमा कार्यरत कर्मचारीलाई जबरजस्ती बीमा गर्न लगाएर २० लाख कमिसन खाएको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोग स्रोतले बतायो।

प्रतिक्रिया