विप्लवका लडाकू अस्ट्रेलियाबाट सञ्चालित


काठमाडौं– राज्य व्यवस्थासँग सिँगोरी खेलिरहेको प्रतिबन्धित बिप्लब समूहका केही सदस्य पार्टीको नीति विपरित आपराधिक क्रियाकलापमा संलग्न भएको पाईएको छ ।

यस्ता केही सदस्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेपछी उनीहरूको आपराधिक क्रियाकलापको खुलासा भएको हो ।

काठमाडौंमा एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र उनकी श्रीमतीलाई बिप्लबको नाममा एक समूहले गत साताबाट धम्क्याउँदै आएका थिए ।

कन्सलटेन्सीका सञ्चालक अधिकारीलाई उक्त समूहले तीन करोड रकम माग गरेको र नदिए ज्यानमार्ने धम्की दिएपछि अधिकारीले महानगरीय अपराध महाशाखामा निबेदन दिएका थिए ।

महाशाखामा निवेदन परेपछि महाशाखाबाट एक टोली धम्की दिने समूहको खोजीमा जुटेको थियो । उजुरी परेको दिनमै माहाशाखाले धम्क्याउने चार जनालाई केही प्रमाण सहित काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भयो ।

उनीहरू पक्राउ पछि भने डर लाग्दो रहस्य खुलासा भयो ।

महाशाखाले नियन्त्रणमा लिएका ककनी गाउँपालिका–२, नुवाकोटका ३३ वर्षीय बिन्तोस सिलवाल (सुनार) भन्ने गणेश विक, सुनापती गाउँपालिका–३, रामेछापका ३१ बर्षीय रामदल श्रेष्ठ (अटल), तिमाल गाउँपालीका–५, काभ्रेका ५२ बर्षीय तिर्थमान तामाङ र भरतपुर महानगरपालिका–१३, चितवनका ४२ बर्षीय नन्दुराज आचार्य थिए ।

उनीहरूको प्रारिम्भक बयानबाट बिप्लबबाट सञ्चालित नभई अस्ट्रेलियाबाट सञ्चालित भएको खुलासा भयो ।

काठमाडौंमा एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र अस्ट्रेलियाका पीआर होल्डर सचिन्द्र थापा कुनै बेला पार्टनरको रुपमा काम गर्थे । थापा हाइ बिलासिता र मोजमस्तीमा रमाउने व्यक्ति भएको उनलाई चिन्ने बताउँछन् ।

अधिकारीले नेपालबाट विद्यार्थी पठाउने काम गर्थे भने थापा नेपाली एजेन्ट बनेर अस्ट्रेलियाका विश्व विद्यालयहरूसँग रकम लिन्थे । त्यहि रकमको हिसाव किताब खोज्दा अधिकारीमाथि थापाले बिप्लब समूह लगाएका हुन् ।

अधिकारीले आफूले काम गरे वापत अस्ट्रेलियन विश्व विद्यालयहरूसँग लिनुपर्ने रकम थापाले लिएपछि उनले आफ्नो रकमको लागि ताकेता गरे । तर, थापाले भने कमिसन वापतको त्यो रकम दिनुको साटो उल्टै तीन करोड असुल्न विप्लव समूहका सदस्यको दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलासा भयो ।

महाशाखाले पक्राउ गरेका चार जनामध्ये एक जना पेशाले वकिल हुन् भने बाँकी तीनै जना प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहसँग निकट छन् ।

बिन्तोष सिलवाल नुवाकोट पार्टी सेक्रेटरी, रामदल श्रेष्ठ (अटल) रामेछाप जिल्ला सेक्रेटरी र तिर्थमान तामाङ काभ्रे जिल्ला इन्चार्ज हुन् भने नन्दुराज आचार्य वकिल हुन् ।

बिन्तोष कहिले नुवाकोट डोजर जलाउने त कहिले धनकुटामा आगजनी गर्ने क्रियाकलापमा संलग्न रहेको पनि खुलेको छ । यद्यपी तीनै जनाले आफूहरू अहिले विप्लव समूहमा नरहेको बयान दिएका छन् ।

थापाले भाडाका गुण्डाहरू प्रयोग गरेको रहस्य खुल्दै गर्दा फेरि अर्को रहस्य खुल्छ, यी चार जनाको नेतृत्वकर्ता भने बिप्लब समूहकै उच्च तहका अर्का व्यक्ति रहेको पत्ता लाग्छ।

थापाले ती उच्च तहका व्यक्तीलाई जिम्मा दिएको काम ति व्यक्तिले नाताले मित पर्ने वकिल नन्दुराजमार्फत बिन्तोष, रामदल र तिर्थमानलाई प्रयोग गरेका रहेछन् । पटक–पटक अधिकारी र उनकी श्रीमतीलाई टर्चर दिने यी चार जना मध्ये नन्दुराजले भने  ‘२ करोडसम्म कुरा मिलाउन सक्छु’ भन्दै बिचौलियाको भूमिकामा देखा परेका थिए ।

हुण्डी कारोबारी भनेर चिनिएका टपेन्द्र पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् । इन्टरपोलमार्फत टपेन्द्र र सचिन्द्रलाई नेपाल झिकाउन प्रहरीले पहल थालिसकेको महाशाखाले जनाएको छ ।

पक्राउ परेकालाई आपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिइएको महाशाखाका प्रमुख एसएसपी थापाले बताए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पनि एसएसपी थापाले बताए।

प्रतिक्रिया