

‘जस्टिस फर सबिता’: बुहारीलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको भिडिओ प्रमाण होइन?

काठमाडौं – यतिबेला सामाजिक सञ्जालमा एउटा ‘अपत्यारिलो’ भिडिओ भाइरल भएको छ। भिडिओ चितवनकी २८ वर्षीया सबिता भण्डारीको हो। उक्त भाइरल भिडिओ सबिताको मृत्युअघिको हो।
भिडिओमा आफ्नो ससुरा रमेशकुमार धितालले सबितालाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको देख्न सकिन्छ। आफ्नो छोरी समानकी बुहारीको काखमा सुतेर रमेशले सबिताको संवेदनशील अगंमा आफ्नो हात पुर्याएका छन्।
जुन भिडिओ सबिताले आफ्नो बहिनी सजनीलाई ५ महिना अघि पठाएकी थिइन्। सबिताले पटक–पटक घर पक्षबाट आफूमाथि दुर्व्यवहार हुने गरेको कुरा बहिनीलाई भनेकी थिइन्। त्यसपछि बहिनीले पछि काम लाग्न सक्छ भन्दै दिदीलाई लुकेर भिडिओ खिच्न लगाएकी थिइन्।
सोही अनुरुप सबिताले लुकेर खिचेको भिडिओ बहिनी सजनीलाई म्यासेन्जरमा पठाएकी थिइन्। आज त्यहि भिडिओ भाइरल भइरहँदा सुसरा रमेश खुलेआम हिँडिरहेका छन्। रमेशकै कारण छोरीले आत्महत्या गरेको पीडित परिवारको भनाइ छ।
त्यतिमात्र होइन, सबिताको अर्को भिडिओ पनि भाइरल छ– भिडिओमा सबिताले भनेकी छन्, ‘म एकदम कमजोर भइसके कान्छी। मसँग बोल्ने आँट पनि छैन। म एकदम होप्लेस भए।’ जुन भिडिओ सबिताको मृत्यु भएको केही दिनअघिको हो।
‘एनिभर्सरीको भोलिपल्ट सदाका लागि विदा भइन् सबिता’
३ वैशाखमा सबिता र योगेन्द्र वैवाहिक जीवनमा बाँधिएको दिन हो। जो कोहीलाई पनि आफ्नो एनिभर्सरीको दिन जोडीसँग रमाइलो गर्ने, मिठोमिठो खाजे, रमाइलो ठाउँमा घुम्न जाने मन हुन्छ।
तर, सबिताले श्रीमानसँग एनिभर्सरी मनाउनु त परैको कुरा थियो। श्रीमान योगेन्द्रकुमार धितालले पाए, उल्टो कुट्थे होला। सबिताले एनिभर्सरीको भोलिपल्ट आफ्नो मृत्युलाई बोलाएकी रहिछन्। सदाको लागि विदा भएर सबिताले संसार छोडिन्।
गत ४ वैशाखमा सबिताको चितवनको भरतपुर महानगर-१९ शारदानगर बख्यानचोकस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा शंकास्पद शव फेला परेको थियो। त्यसपछि कसैले सबिताको हत्या हो भने, कसैले मारिएको भनेर अड्कलबाजी गरे।
सबिताको मृत्यु पछाडि धेरै कुराहरु आएका छन्। अहिले यो विषय देशको निकै नै चासो लाग्दो विषय भएको छ। सबिताको न्यायको लागि थुप्रै समाजिक सञ्जालहरुमा आफ्नै तरीकामा टिकाटिप्पणी आइरहेको छ।
दिदीको मृत्युको खबर समेत प्रहरीले दिएः सजनी
सबिताको मृत्युको खबर समेत माइती पक्षलाई प्रहरीले दिएको थियो। सबिताकी बहिनी सजनी भन्छिन्, ‘दिदीको मृत्युको खबर (उहाँको) दिदीको घरबाट हामीले थाहा पाएको होइन, प्रहरी सरहरुले फोन गरेर दिनुभएको हो।’
सबिताको मृत्युको खबर सुनेपछि माइती पक्ष सोही दिन राति २ बजे चितवन पुगे। जतिबेला झुण्डिएकी सबिताको शव उनीहरुले देखेनन्। त्यसअघि नै घर पक्षले डोरी काटेर झुण्डिएकी भनिएकी सबिताको शव प्रहरीलाई बुझाएको थियो।
माइती पक्षको बिना रोहबरमा डोरी काटेर शव उठाउनुले थप शंका पैदा गरेको छ। ‘नहुनु भइसकेको थियो। डोरी काटेर शव निकाल्दा पनि हामी नकराई बस्यौं,’ सजनी भन्छिन्, ‘त्यतिबेला पनि प्रहरीले हामीलाई सहयोग गरेन।’
हामीले शव हामी नआउँदासम्म नउठाउनु भन्दा ‘तिमीहरुले सकेको गर’ हामी शव उठाउँछौं भन्दै दिदीको परिवारले शव उठाएको बताउँदै सजनीले भनिन्, ‘यसरी हामीलाई धम्की समेत दिइएको थियो।’
प्रहरीले झुक्याएर दिदीको शव उठाउनको लागि खेलवाड गरेको सजनीले बताइन्। ‘बुबाले दिदीको शव नउठाउने भन्दै हुनुहुन्थ्यो। तर, प्रहरीले मेरो दाईलाई मुद्दा चलाउनको लागि यहाँ हस्ताक्षर गरिदिनुस् भन्दै शव उठाउने कागजमा किर्ते हस्ताक्षर गर्न लगायो,’ उनले भनिन्।
दाईले हस्ताक्षर गरेकै दिन दिदीको परिवारले शव उठाएर दाहसंस्कार गरेको सजनीले बताइन्।
मृतक सबिता भण्डारी।
पीडक धरौटीमा निस्किएपछि भिडिओ भाइरल
घरकी बुहारीलाई कुदृष्टि लगाउने ससुरा रमेशलाई चर्को कारबाही हुने अपेक्षमा थिए सबिताको माइती पक्ष। तर, सोचे जस्तो भएन। ‘अपराधी’को ट्याग पाइसकेका रमेश शक्तिको आडमा रिहा हुन सफल भए।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ देख्दादेख्दै प्रहरीले कमजोर मिसिल तयार बनाएर अदालत पेश गरेको पीडितहरुको आरोप छ। ‘ससुराले त्यसरी एउटी बुहारीलाई छोएको भिडिओ प्रष्ट छ, त्यहि प्रमाण होइन र?’ सजनी प्रश्न गर्छिन्।
सबिताको मृत्यु भएको करिब २ महिनापछि उक्त भिडिओ भाइरल हुनुको कारण हो – सबितालाई आत्महत्या गर्न उत्प्रेरित गर्ने ससुरा र श्रीमान् धरौटीमा रिहा हुनु। केही दिनअघि उनीहरु १–१ लाख धरौटीमा रिहा भएका छन्।
आत्महत्या दुरुत्सानमा प्रहरीले मुद्दा चलाए पनि उनीहरुलाई चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। प्रहरीले राम्रोसँग काम गर्छ होला भनेर सुरुमा यो भिडिओ भाइरल नगरेको सजनीले बताइन्।
‘जब प्रहरीको अनुसन्धानप्रति शंका लाग्यो, अनि मेरो दिदीलाई मर्न बाध्य बनाउने अयिभुक्तलाई अदालतले छाड्यो,’ सजनीले भनिन्, ‘त्यसपछि दिदीले पठाएको भिडिओ सार्वजनिक गर्नुको विकल्प थिएन।’
आफ्नै बुबाले बुहारीलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्दा समेत केही नभनी उल्टो सबितालाई मारिदिने धम्की दिने गर्थे– योगेन्द्र। परिवारमा सम्झाउनुको सट्टा बुबा रमेशसँग मिलेर श्रीमतीमाथि जाइलाग्थे योगेन्द्र।
झुक्याएर सबितासँग बिहे!
स्थानीय विद्यालयका शिक्षक समेत रहेका रमेशले यसअघि पनि छोराको जेठी श्रीमतीलाई समेत नराम्रो व्यवहार गर्ने गरेको पाइएको छ। त्यसपछि योगेन्द्रलाई जेठी श्रीमतीले छाडेकी थिइन्।
जेठी श्रीमतीले छाडेर गएपछि योगेन्द्रले सबितासँग विवाह गरेका हुन्। ७ वर्षअघि उनीहरुको मागी विवाह भएको थियो। सुरुमा उनीहरुको वैवाहिक जीवन राम्रै थियो। जब पहिलो सन्ताको रुपमा छोरा जन्मियो, अनि उनीहरुबीच खटपट आउन थाल्यो।
सबितालाई कुटपिट गर्नेदेखि डिभोर्स माग्ने काम गर्न थाले। रमेशले छोरालाई उक्साउने गर्थे। सबितालाई एक्लै देख्नासाथ अनैतिक क्रियाकलाप गर्थे रमेश। यसरी आफ्नो छोरी समानको बुहारीलाई कुदृष्टि लगाउँदै सबितासँग टाँसिन्थे।
मृतक सबिताको श्रीमान योगेन्द्र र ससुरा रमेश।
‘सुरुमा राम्रै परिवारको जस्तो लागेको थियो। बोलीचाली, रहनसहन सबै राम्रो देखिन्थ्यो,’ सजनी भन्छिन्, ‘पछि मात्र गएर हामीलाई थाहा भयो कि– भिनाजुको त पहिला नै बिहे भएर डिभोर्स भएको कुरा।’
सबिता र योगेन्द्रको ५ वर्षका छोरा छन्। पछिल्लो लकडाउनमा माइतीमा बसेकी दिदीलाई आमाजु भावना ढकाल र अमाजुको श्रीमान् भोज ढकालले फोन गरेपछि सबिता चितवन गएकी थिइन्।
‘दिदीभिनाजुको आग्रहमा सबिता दिदी काठमाडौंबाट चितवन जानुभएको हो। जतिबेला उनीहरुले योगेन्द्रसँग डिभोर्स गराइदिने कबुल गरेका थिए। आज यस्तो हुन पो रहेछ,’ बहिनी सजनीले भावुक हुँदै अनलाइनन्यूज७ सँगको कुराकानीमा बताइन्।
दुबईमा हुँदा अमाजु भावनाले बारम्बार सम्पत्ति नदिएको भनेर दबाब दिएको खुलासा भएको छ। ‘दिदी दुबइ पनि जानुभएको थियो,’ सजनीले भनिन्, ‘दुबईमा गर्भवती हुँदा पनि भिनाजु योगेन्द्रले धेरै नै मानसिक यातना दिने गरेको दिदीले आफूलाई भन्नुभएको थियो।’
पोष्टमार्टम रिपोर्टमा आत्महत्या
घटनाको अनुसन्धानमा खटिएको प्रहरीका अनुसार सबिताको मृत्यु हत्या नभएर आत्महत्या हो। चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले अनुसन्धानबाट सबिताले आत्महत्या गरेको खुलेको बताए।
‘सबिता आफैं झुण्डिएको हो,’ एसपी अधिकारीले अनलाइनन्यूजसँग भने, ‘पोष्टमार्टम रिपोर्टमा पनि आफैं झुण्डिएको छ। अनुसन्धानमा गर्नपर्ने काम प्रहरीले गरेको छ।’ पोष्टमार्टम रिपोर्टले झनै सबिताको माइती पक्षलाई संशकित बनाएको छ।
‘दिदीको शरीरमा निलडाम थियो भनिन्छ। तर हामीलाई दिदीको शव हेर्न समेत दिइएन,’ सजनी भन्छिन्, ‘त्यसैले प्रहरीको अनुसन्धानप्रति नै प्रश्न उठाउने ठाउँ छ। हामीले कर्तव्य ज्यानमा मुद्दा हाल्छौं भन्दा दुरुत्साहनमा हाल्न लगाए। अहिले आएर उनीहरुलाई प्रहरीले नै थुनामुक्त गराए।’
पैसावालको लागि कानुन पनि नुन किनेजस्तो रहेको सजनी बताउँछिन् । ‘कुनै एउटा कानुनविदको घरमा यो प्रकारको घटना होस्। अनि थाहा पाउँछन्। होइन भने प्रहरी प्रशासनले किन मिसिल कमजोर बनाएर अदालत पेश गर्यो,’ सजनी दोहोर्याउँछिन्।
यस विषयमा एसपी अधिकारीले उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको स्वीकारे। ‘आत्महत्या दुरुत्साहन मुद्दामा अहिलेसम्म कोही जेल गएको जस्तो मलाई लाग्दैन। जस्तो यसअघिको चर्चित रवि लामिछानेको उदाहरण हेर्नुहोस्,’ एसपी अधिकारीले भने।

