

असफल सरकारलाई समर्थन दिइरहन उपयुक्त नहुने भन्दै माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

मोरङ – असफल सरकारलाई समर्थन दिइरहन उपयुक्त नहुने भन्दै नेकपा (माओवादी केन्द्र)ले दिएको प्रदेश १ सरकारको समर्थन आइतबार फिर्ता लिएको छ ।
प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।
पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताए ।

