अमेरिकी राष्ट्रपतिहरुको बलिउड कनेक्सन


मुम्बई(एजेन्सी) – अमेरिकी राष्ट्रपति चुनावको नतिजाले डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनलाई निर्वाचित गरिसकेको छ । यो चुनावमा जितपछि बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनिसकेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनदेखि लिएर पूर्वत राष्ट्रपतिद्वय डोनाल्ड ट्रम्प र बराक ओबामासम्मको सम्बन्ध बलिउडसँग छ । उनीहरुले आफ्नो भाषण र चुनावी प्रचारमा बलिउडको प्रयोग गरेका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति ओबामाले आफ्नो भाषणमा बलिउड फिल्मलाई घुसाएका छन् । उनले भाषणमा शाहरुख खानको फिल्मको संवाद नै बोलेका छन् । सन् २०१५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति ओबामा जनवरी २६ मा भारत भ्रमण थिए । यो भ्रमणका क्रममा उनले २७ जनवरीमा एक भाषणका समयमा शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को एक संवाद बोलेका थिए । ‘ बडे–बडे देशों में छोटी–छोटी बातें होती रहती हैं । आप समझ सकते हैं मैं क्या कह रहा हूं ।’ उनले भनेका थिए ।

ओबामा पछि अर्का पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भाषणमा बलिउडलाई सम्झिएका थिए । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध निकै राम्रो रह्यो । यही वर्षको शुरुवातमा ट्रम्प भारत भ्रमणमा थिए । त्यही बेला उनी साबरमती आश्रम गए र त्यसपछि उनी अहमदाबादमा बनिरहेको विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम पुगे । जहाँ उनले भारतलाई सम्बोधन गरेर भाषण गरेका थिए । ‘भारत हरेक वर्ष २ हजार फिल्महरु निर्माण गर्छ र यो क्रिएटिभिटी विश्वमा बलिउडको नामले चिनिन्छ’ उनले भनेका थिए, ‘पुरा प्लानेट भाँगडा, रोमान्स, ड्रामा र क्लासिकल इण्डियन फिल्म जस्तोकी डीडीएलजे हेरेर खुशी हुन्छन् ।’ उनले यो भाषणमा अमिताभ बच्चन र धर्मेन्द्र स्टारर फिल्म ‘शोले’को पनि कुरा गरेका थिए ।

वर्तमान राष्ट्रपति बाइडनले आफ्ना अघिल्ला भाषणमा भारतको कुरा मिसाएका छन् । उनले यसपटकको चुनावी प्रचारमा पनि बलिउडको सहारा लिएका थिए । उनले प्रचारमा बलिउडका गीतको प्रयोग गरेका थिए । उनले चुनावी अभियानमा भारतीय मूलको अमेरिकीलाई लिएर गीत बनाएका थिए । जसमा फिल्म ‘लगान’को गीत थियो ।

प्रतिक्रिया