नेपाल प्रहरीका इतिहासको अवसान, रहेनन् पूर्वआईजी खड्गजित बराल


काठमाडौं– बुधबार बिहानसम्म नेपाल प्रहरीका जीवित इतिहासका रुपमा रहेका पूर्वमहानिरिक्षक (आईजी) खड्गजित बरालको निधन भएको छ।

राणा कालमा प्रजातन्त्रका लागि मुक्ति सेनामा लागि लडेका बराल नेपाल प्रहरीको स्थापना कालदेखि कार्यरत थिए। विस २०१३ सालमा नेपाल प्रहरीको निरिक्षक (इन्स्पेक्टर)मा भर्ती भएका उनी सर्वोच्च पद आईजी भएका थिए।

९३ बर्षको उमेरमा महाराजगञ्जस्थित निवासमा नै निधन भएका उनको बुधबार नै अन्त्येष्टि गरिने बताइएको छ।

नेपाल प्रहरीको कायाकल्प गराउने यात्राको नेतृत्व गरेका बरालले प्रजातान्त्रिक आन्दोलनमा पनि आफूलाई अब्बल देखाएका थिए। राणा, कांग्रेस र राजाबीचको सहमतिबारे जान्ने उनी जीवित दस्ताबेज थिए।

प्रहरी महानिरिक्षक (आईजी)को पदमा सबैभन्दा धेरै ६ बर्षसम्म रहेर नेतृत्व गरेका उनले संगठन सुदृढिकरणमा क्रान्ति नै गरेका थिए। बरालको पालामा नै प्रहरीलाई राशन, कपडालगायतको सुविधा सुरु गरिएको थियो भने संगठनका भवनलगायतका भौतिक पूर्वाधार स्थापनाको क्रम चलेको थियो।

बरालले २०३४ सालसम्म करिब २१ बर्ष नेपाल प्रहरीमा सेवा गरे। कम समयमा प्रहरीको सर्वोच्च पदमा पुग्ने उनी नै पहिलो व्यक्ति पनि हुन्।

प्रतिक्रिया