

पूर्व एआइजीको घरमा काम गर्न बसेको प्रहरी मृत फेला

काठमाडौं – बिहीबार बिहान ग्रीन हिल सिटी हाउजिङस्थित नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमको घरमा कार्रयत प्रहरी परिचर मृत फेला परेका छन्।
कागेश्वरी मनोहरा–६ स्थित हाउजिङस्थित बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमला मृत फेला परेका हुन्। ओखलढुंगाका धमला झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले धमला झुण्डिएको अवस्थामा फेला परेको पुष्टि गरे। उनले किन आत्महत्या गरेको भन्ने खुलिसकेको छैन।
‘काम गर्न बसेको प्रहरी परिचरले आत्महत्या गरेको हो,’ एसएसपी सिंहले भने। प्रहरीले धमलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

