नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक बिच मर्जर सम्बन्धी सम्झौता हुँदै


काठमाडौं – आज नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बिच मर्जर सम्बन्धी सम्झौता हुने भएको छ । हिमालयन बैंकको सञ्चालक समितिको निर्णयमा सबै सञ्चालकको हस्ताक्षर भएको खण्डमा बिहीबार दिउसोसम्ममा मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयू) मा हस्ताक्षर हुने कार्यक्रम तय भएको हो ।

नेपाल राष्ट्र बैंकले पनि करिब एउटै समुहको लगानी रहेको भन्दै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरको दबाब दिदै आएको थियो । राष्ट्र बैंकले एउटै समुहको लगानी रहेका बैंक वित्तीय संस्था मर्जर हुनुपर्ने व्यवस्था गरेको लामो समयपछि दुइ संस्था मर्जरको करिब अन्तिम विन्दुमा आएका हुन् ।

स्रोतका अनुसार एमओयूपछि संयुक्त डीडीएपछि मात्र स्वाप रेसियो तयार हुन्छ । सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकनमा हिमालयनको प्रति सेयर मूल्य १०२.५ रुपैयाँ र इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ आएको छ ।

स्वाप रेसियो के हुन्छ भन्ने भन्दा पनि मर्जरको औपचारीक प्रक्रिया सुरु हुनु नै ठुलो कुरा रहेको स्रोतको भनाई छ । नेपाल इन्भेष्टमेन्टको बोर्डको तर्फबाट कुनै पनि फरक मत नरहेको समेत स्रोतले जानकारी दियो । त्यसका साथै कर्मचारी सञ्चय कोषले समेत धेरै नै सकारात्मक भुमिका निर्वाह गरेको स्रोतको भनाई छ ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर भएपछि चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ हुँनेछ । सोही आधारमा मर्जरपछिको संस्थाको सञ्चित कोषमा १९ अर्ब भन्दा धेरै हुनेछ । दुइ बैंक मर्जरपछि बन्ने संस्थाको निक्षेप ३ खर्ब हुने छ भने कर्जा २ खर्ब ८७ अर्ब हुने छ । बैंकको निक्षेप,कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो हुने छ ।

मर्जरपछि बन्ने संस्थाको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे रहने छन् । पाँडे अहिले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन । प्रमूख कार्यकारी अधिकृतमा भने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओमा हुने छन् ।

प्रतिक्रिया