अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको हो।

डिल्लीबजार कारागार थुनामा रहेका बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

त्यसपछि विशेषले २०७७ मंसिर २८ गते बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गएपनि उनको माग सुनुवाइ भएको थिएन।

बस्न्यातलाई कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले बन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन्। आफुूमुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो।

प्रतिक्रिया