भक्तपुरमा सुत्केरी सेक्न झ्याल-ढोका थुनेर बस्दा युवतीको मृत्यु, दुईजना बेहोस


File Photo

काठमाडौं – सुत्केरी सेकाउन झ्यालढोका थुनेर कोइला बालेर बसेकी काभ्रेकी २२ वर्षीया सुनिता तामाङको निसास्सिएर मृत्यु भएको छ। घटना भक्तपुर सुर्यविनायक नगरपालिका–१० मिलन चोकमा भएको हो।

काभ्रे तिमाल गाउँपालिका–३ की सुनिता भक्तपुरमा आमासँगै डेरामा बस्दै आएकी थिइन्। सुत्केरी सेकाउन कोइला बालेर झ्यालढोका थुनेर बस्दा निसास्सिएर सुनिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा छन्। आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।

प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन्। सुत्केरी सेक्न कोठामा कोइला बालिएको प्रहरीले जनाएको छ। ‘कोठाभित्र कोइला बालेको भेटिएको छ, सबै झ्यालढोका भित्रबाट बन्द छ,’ घटनास्थल पुगेका एक प्रहरीले भने।

शान्तिमायाका श्रीमान सलाम राति कोठामा पुग्दा ढोका बन्द थियो। उनले श्रीमतीलाई फोन गरे। रिसिभ भएन। झ्यालबाट हेर्दा भित्र सबै अचेत रूपमा ढलेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

आइतबार राति ११ बजे घरको झ्याल–ढोकाको चुकुल फोडेर हेर्दा तिनै जना मुखबाट फिँज काढिरहेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए।

परिसरका प्रवक्ता समेत रहेका डिएसपी दीपक गिरीले भने, ‘अक्सिजनको कमी भएकाले उनीहरू बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ उनीहरू तीन तले घरको भुइँतलामा बस्थे।

मृतक सुनिताको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया