फ्रन्टलाइनमा रहेका सेना, प्रहरी र सशस्त्र कर्मचारीः कतिले लगाए खोप?


काठमाडौं– फ्रन्टलाइनमा खटिने तीन वटै सुरक्षा निकाय पनि कोरोना संक्रमणबाट अछुतो छैन। अझै पनि नेपाल प्रहरीका २ सय जना, नेपाली सेनाका ९५ जना र सशस्त्र प्रहरी बलका ७८ जना संक्रिय संक्रमित छन्। संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा बढ्दै गएपछि ब्यारेक र कार्यालयमा अत्यावश्यक कामबाहेकका बाहिरी मानिससँग भेटघाट बन्द गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले नगरी नहुने बाहेक सबै तालिम, सेमिनार, गोष्ठी एवं भेटघाट अर्को आदेश नभएकासम्मका लागि स्थगित गरिएको बताए। ‘देशभरका ब्यारेकमा सबैलाई खोपको व्यवस्था समेत छ,’ उनले भने।

हालसम्म नेपाली सेनाका कमृचारहिरुले पहिलो डोजमा ४५ हजारले खोप लगाएका थिए भने दोस्रो डोजमा ९ हजार जनाले कोरोनाको खोप लगाएको प्रवक्ता पौडेलले जानकारी दिए।

खोपको व्यवस्था गर्न सैनिक अस्पतालहरू, इटहरी, पोखरा र नेपालगन्जबाट मेडिकल टिम खटाइएको छ। सेनाले खरिपाटीमा १ सय २५ र सूर्यविनायकस्थित ब्यारेकमा ७५ जना अट्ने आइसोलेसन सेन्टर निर्माण समेत गरेको छ।

त्यस्तै नेपाल प्रहरीमा हालसम्म पहिलो डोजमा ३७ हजार ५ सय जनाले खोप लगाएका थिए भने दोस्रो डोजमा १२ हजारले खोप लगाएको केन्द्रीय प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए।

फिल्डमा नागरिकसँग सबैभन्दा बढी घुलमिल हुने प्रहरी कर्मचारीलाई सम्भव भएसम्म कार्यालय आलोपालो सिस्टममा परिचालन गर्ने एसएसपी कुँवरले बताए। ‘आलोपालो सिस्टममा जनशक्ति व्यवस्थापन गरेका छौं,’ उनले भने।

फिल्डमा खटिएका जनशक्तिहरुलाई सुरक्षा जाँच र लकडाउन कार्यान्वयनका क्रममा अर्को पक्षसग ‘भौतिक दूरी’ कायम राख्न पनि भनिएको छ। ‘कोरोना भाइरसको जोखिमका बाबजुद जिम्मेवारी निर्वाह गर्नु हाम्रो कर्तव्य हो, त्यहीअनुसार काम गरिरहेका छौं,’ कुँवरले भने।

‘संक्रमण देखिएकालाई उपचारका लागि अस्पताल पठाइसकेका छौं, अन्यको पनि स्वास्थ्य परीक्षण भइरहेको छ,’ उनले भने। स्वास्थ्य परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकाहरु पुन जिम्मेवारीमा फर्किने भन्दै केही व्यक्तिमा संक्रमण देखिँदैमा आम नागरिकको सुरक्षा र लकडाउन कार्यान्वयनमा कुनै असर नपुग्ने उनले बताए।

त्यस्तै सशस्त्र प्रहरीमा देशभरका युनिटलाई फौजलाई बिदा नदिन र बिदा सकेर फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको प्रवक्ता तथा नायब महानिरीक्षक (डिआईजी) राजु अर्यालले बताए।

डिआईजी अर्यालका अनुसार फिल्डमा खटिएका र ब्यारेकमा भएकाबीच घुलमिल हुन नदिन आन्तरिक व्यवस्थापन त्यहीअनुसार मिलाइएको छ। आवश्यक उच्चतम स्वास्थ्य सावधानी अपनाएर दैनिक जिम्मेवारी निर्वाह गर्न मातहत युनिटलाई निर्देशन दिएको अर्यालले बताए।

हालसम्म सशस्त्र प्रहरीका कर्मचारीले पहिलो डोजमा २५ हजार ७ सय ८८ जना र दोस्रो डोजमा १८ हजार ५ सय ३० जनाले खोप लगाएको अर्यालले जानकारी दिए।

सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्न थालेपछि केही जिल्लाका सम्बन्धित कार्यालय सिल गरिएको छ। संक्रमित सुरक्षाकर्मीहरुको अवस्था सामान्य छ।

प्रतिक्रिया