

चार महिनादेखि बेपत्ता सञ्चारकर्मी वलीको कपडासहित कंकाल फेला

सञ्चारकर्मी देवेन्द्र वली
काठमाडौं – दाङमा गत १५ माघदेखि हराइरहेका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको कपडा र जुत्तासहित एउटा मानव कंकाल फेला परेको छ ।
सोमबार घोराही उपमहानगरपालिका– १६ को बाँघखोर सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले बताए ।
उक्त भेटिएको पाइन्ट, घडी, जुत्ता वलीकै भएको परिवारले जनाएको छ । शव गलेको अवस्थामा भेटिएकाले कंकाल वलीको हो या हैन भन्ने पहिचान खुलेको छैन ।
अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट आफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्किएपछि उनी एकाएक सम्पर्कविहिन भएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

