

डिआइजी धानुकले भने, ‘हुँदै नभएको घटनामा मलाई जोडेर गलत आरोप लगाइयो’

काठमाडौं – लुम्बिनी प्रदेशका प्रमुख नायब महानिरीक्षक (डिआइजी) रवीन्द्र धानुकमाथि महिलाको संवेदनशील अंगमा हातपात गरेको आरोप लागेपछि धानुकले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले मुख्यमन्त्री शंकर पोखरेलको सपथग्रहण समारोहमा कुनैपनि महिला प्रदेश सांसदमाथि हातपात र कुटपिट नगरेको स्पष्ट पारे। डिआइजी धानुकले हुँदै नभएको कुरामा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाए।
उनले महिला प्रदेशसभा सदस्यले गलत आरोप लगाएको भन्दै तत्कालको स्थितिलाई नियन्त्रणमा लिन प्रहरी र प्रदेशसभा सदस्यबीच सामान्य घटनालाई लिएर राजनीति गर्न खोजेको घुमाउरो भाषामा टिप्पणी गरे।
शान्तिसुरक्षा कायम गर्ने बिषयमा प्रहरी र प्रदेशसभा सदस्यबीच नाराबाजीसहितको धकेलाधकेललाई महिला प्रदेशसभा सदस्यले हातपात गरेको भनेर गलत प्रचार गर्न खोजेको धानुकको भनाइ छ।
उनले यस्ता भ्रमपूर्ण कुरामा विश्वास नगर्न सबैमा आग्रह गरेका छन्। सपथग्रहणको बेला झडपको बिषयलाई लिएर डिआइजी धानुकमाथि आइतबार महिला सांसदहरुका संवेदनशील अंगमा हातपात गरेको भन्दै आज एक बिज्ञप्ति जारी गर्दै कारवाहीको लागि माग गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बेला उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालयमा गएका सात जना महिला सांसदलाई डिआइजी धानुकले बल प्रयोग गरी दुव्र्यवहार गरेको आरोप छ। उनले मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी बल प्रयोग गरेको र बल प्रयोग गर्दा महिला सांसदमाथि दुव्र्यवहार भएको बताइएको छ।
डिआइजी धानुकमाथि महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले आरोप लगाएका छन्।
यसअघि हिजोको कुरालाई लिएर कांग्रेस सचेतक क्षेत्रीले एक भिडियोमार्फत भनेकी छिन्, ‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दाभन्दै डिआइजी धानुक आएर पहिले म माथि आक्रमण गर्न थाल्नुभयो। त्यसपछि सबै प्रहरी आएर मलाई टिपेर फाले।’
प्रदेश प्रमुख र मुख्यमन्त्रीको निर्देशनमा डिआइजीले नै यस्तो अमर्यादित किसिमले आक्रमण गरेको क्षेत्रीको दावी छ। क्षेत्रीले न्यायका लागि अब कहाँ जाने भनेर प्रश्न समेत गरेकी छन्।

