मदनकृष्ण भन्छन्: ‘पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो, तर हावा रहेछ जीन्दगी’


काठमाडौं – चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ नयाँ भेरियन्टको कोरोना संक्रमणमुक्त भएका छन् । दोस्रोपटक कोरोना संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमणका कारण कमजोर महशुस भएपछि ११ बैशाखमा अस्पतालमा भर्ना भएका उनी शुक्रबार साँझ डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि कलाकार श्रेष्ठले भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले सुझाएका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोड्दिऊँजस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ । सबैले सबैको भलाई सोच्यौं भने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा ।’

उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँ केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठीक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ, तर इनर्जी पावर शून्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’

आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको उनले बताएका छन् । आफ्ना छिमेकीजस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘यो समयमा सबैले प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ उनले कोरोनालाई हेलचेक्र्याइँ नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया