

सशस्त्र एआईजीको पदावधि थपसँगै राईको आईजी बन्ने सपना तुहियो

काठमाडौं– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय पुष्पराम केसी र रामशरण पौडेलको एक वर्ष पदावधि थप भएको छ। उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लबिङ हुँदै आएको थियो।
उनीहरु दुवैजनाको ४ वर्षे पदावधि यही २० वैशाखमा सकिँदै थियो। उनीहरुको पदावधि थपसँगै कसलाई घाटा भयो? कसलाई फाइदा भयो?
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालको चार बर्षे कार्यकाल आगामी वर्षको २८ चैतमा सकिँदैछ। पदावधि थपसँगै अब एआईजीद्वय केसी र पौडेलको कार्यकाल आगामी २० वैशाख २०७९ सम्म हुन्छ।
यदि दुवै एआईजीको म्याद थप नभएको भए हाल प्रहरी नायब महानिरीक्षक (डिआईजी) रहेका खड्गबहादुर राई भावी नेतृत्वको दाबेदार थिए। तर, दुवै एआईजीको पदावधि थपसँगै राईको आईजीपी बन्ने सम्भावना तुहिएको छ।
सशस्त्रमा हाल एआईजीको दरबन्दी २ वटा मात्रै रहेको छ। यही अवस्थामा राईले डीआईजीबाटै अवकाश पाउँछन्। आगामी २६ माघमा घर जानेछन्। राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
दुवै एआईजीको म्याद थप नभएको भए राई हालका आईजीपी खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा (१० चैत २०७९ सम्म) पुग्ने थिए। वरिष्ठताका आधारमा राई पहिलो नम्बरको एआईजी बन्ने थिए र आईजीपी बन्न उनलाई बाटो खुल्ने थियो।
राईको र अर्का डिआईजी मन्दिप श्रेष्ठको पनि सरकारले एक वर्ष पदावधि थप गरेको हो। श्रेष्ठ पनि राईसँगै घर जानेछन्। बरियतामा श्रेष्ठ दोस्रो नम्बरमा थिए।
सशस्त्र प्रहरीमा एआईजी र डिआईजीको पदावधि चार–चार वर्ष रहेको छ। सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ।
केसी तीन हप्ते आईजी, त्यसपछि को?
एआईजीद्वय केसी र पौडेल आईजीपी खनालकै ब्याचमेट हुन्। एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन्। २० वैशाख २०७९ सम्म केसी आईजीपी बन्नेछन्।
केसीपछि भावी नेतृत्वलाई लिएर अहिलेदेखि नै चर्को लबिङ सुरु भएको छ। केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन्। यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नुपर्ने हुन्छ।
पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन्। तर अहिलेसम्मको अवस्था हेर्दा सबै जनाको एक वर्ष पदावधि थपिएको छ। उनको एक वर्ष पदावधि थपिएको अवस्थामा उनी केसीपछि २६ कात्तिक २०८२ सम्म आईजीपी बन्नेछन्।

