पूर्वरानी कोमललाई आईसीयू सारियो, ज्ञानेन्द्र अक्सिजन सपोर्टमा, प्रेरणा सामान्य


काठमाडौं – कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा सारिएको जानकारी दिँदै अस्पतालले भनेको छ, ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।’

केही दिनअघि भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन गएका पूर्वराजा र पूर्वरानीलाई नेपाल फर्किएपछि कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । राजदम्पतीसँगै छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया