

प्रदेशसभा अधिवेशनको समयमा ‘बेपत्ता’ सांसद भेट्न अस्पताल पुगे मुख्यमन्त्री गुरुङ

काठमाडौं – कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद भेट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन्।
प्रदेशसभाको विशेष अधिवेशन दिनभर ‘बेपत्ता’ भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री गुरुङ पोखराकै चरक मेमोरियल अस्पताल पुगेका हुन्।
सदनमा अनुपस्थित भएका शाही कोरोना संक्रमण भएको भन्दै अस्पतालको आइसियूमा छन्। मुख्यमन्त्री गुरुङले सांसद शाहीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका डाक्टरसँग जानकारी लिएका थिए।
मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित सांसद शाहीको स्वास्थ्यलाभको कामना गरेका थिए। मुख्यमन्त्रीसँगै प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, एमाले सांसद इन्द्रधारा विष्टलगायत गएका थिए।
शाहीलाई मुख्यमन्त्रीले भेट्न खोजेपनि अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डको कारणले भेट्न नदिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।
शाहीको मंगलबार लिएको स्वाब परीक्षण गर्दा बुधबार बिहान रिपोर्ट नेगेटिभ आएको थियो। फेरी अर्को लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा दिएको स्वाबको पररीक्षणको बुधबार बिहान आएको अर्को रिपोर्ट भने पोजेटिभ छ।
एकैदिन कोरोना परीक्षण गर्न दिएको स्वाबको रिपोर्ट छुट्टाछुट्टै प्रयोगशालाबाट फरक–फरक रिपोर्ट आएपछि यस घटनालाई राजनीतिसँग समेत जोडेर हेर्न थालिएको छ।

