वीरगञ्जमा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु


काठमाडौं – पर्साको वीरगञ्जमा बुधबार मात्रै कोरोनाको कारण ५ जनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु भएको हो।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगञ्ज महानगरपालिका– ७ रामटोलका ४५ वर्षीय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षीया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका–२७ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।

यस्तै नारायणीमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षीय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

वीरगञ्जमा ३ दिन (सोमबार देखि बुधबार) सम्म १२ जनाको मृत्यु भएको छ। बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृत्यु भएको हो।

कोरोनाको दोस्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृत्यु भएको छ। मृतक २३ जनामध्ये पर्साका १५ जना, बाराका ५, सर्लाहीका २ जना र रौतहटका १ जना हुन्।

वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ। कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था भयावह हुनसक्ने बताइएको छ।

प्रतिक्रिया