सहकारीको रकम हिनामिना अभियोगमा पत्रकार महासंघका दाङका सदस्य पक्राउ


दाङ — राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार ओम प्रकाश गुप्ता पक्राउ परेका छन् ।

यसअघि सहकारीको रकम हिनामीना काण्डमा सहकारी संस्थाका ऋण समितिका संयोजक समेत रहेका सन्तोषकुमार गुप्ता पक्राउ परि केहि बर्ष कारागार बसेर छुटेका थिए । रकम हिनामिनामा पक्राउ पर्ने दुबै दाजुभाइ हुन भने पत्रकार महासंघ दाङका सदस्य हुन् ।

सहकारी संस्थाका अध्यक्ष सहित शेयर सदस्य, बचत कर्ताहरुको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जि आएपछि पत्रकार ओम प्रकाश पक्राउ परेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

६६ लाख भन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका गुप्तालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

‘प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो । त्यही आधारमा यसअघि सन्तोष कुमार गुप्तालाई पक्राउ गरिएको थियो, अहिले उनका दाइ ओमप्रकाश गुप्तालाई पक्राउ गरिएको हो,’उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया